रुपन्देही । रुपन्देहीमा आफूलाई घुमुवा प्रहरी (सादा पोसाकका प्रहरी) भन्दै सर्वसाधारणसँग रकम असुल गर्ने आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ निवासी तथा हाल ओमसतिया गाउँपालिका–४, बालापुरमा डेरा गरी बस्दै आएका ४९ वर्षीय राकेशरताप राणा रहेका छन्।
प्रहरीका अनुसार घुमुवा प्रहरीको परिचय दिँदै १० हजार रुपैयाँ मागेर रकम असुल्न खोजिरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई सिद्धार्थनगर–१३, शान्तिनगरबाट नियन्त्रणमा लिएको हो।
प्रहरीले राणाको साथबाट नक्कली पेस्तोल, गाँजा, एक थान मोबाइल फोन तथा २ हजार ६ सय रुपैयाँ नगद बरामद गरेको जनाएको छ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।