एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
सिरहा । सर्पदंशबाट पीडित एक बालकको उपचारका क्रममा मृत्यु भएपछि सिरहाको भगवानपुर गाउँपालिका तनावग्रस्त बनेको छ। उपचारमा ढिलाइ भएको तथा समयमै एम्बुलेन्स उपलब्ध नगराइएको आरोप लगाउँदै आक्रोशित स्थानीयले स्वास्थ्य केन्द्रमा तोडफोड गर्नुका साथै हुलाकी सडक अवरुद्ध गरेका छन्।
घटना भगवानपुर गाउँपालिका–४, कल्याणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको हो। उपचारका लागि ल्याइएका सप्तरीको बलान बिहुल गाउँपालिका निवासी अरुण मण्डलका छोरा रोशन मण्डललाई समयमै थप उपचारका लागि अन्य अस्पतालमा रिफर गर्न नसकिएको स्थानीयको आरोप छ।
स्थानीयका अनुसार एम्बुलेन्स चालकले गाउँपालिका अध्यक्ष उग्र नारायण यादवको अनुमति बिना एम्बुलेन्स सञ्चालन गर्न नमिल्ने बताएपछि उपचारमा ढिलाइ भएको र बालकको बाटोमै मृत्यु भएको परिवारजनले दाबी गरेका छन्।
घटनापछि आक्रोशित स्थानीयले प्राथमिक स्वास्थ्य केन्द्रमा तोडफोड गरेका छन् भने हुलाकी सडकमा टायर र दाउरा बालेर अवरुद्ध गरेका छन्। सडक अवरुद्ध भएपछि उक्त क्षेत्रमा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ।
स्थानीयका अनुसार बिहान ११ बजे गाउँपालिका अध्यक्षसँग वार्ता गर्ने सहमति भए पनि अध्यक्ष वार्तास्थलमा उपस्थित नभएपछि आन्दोलन थप चर्किएको हो। आन्दोलनका अगुवा प्रविन्द यादव र इन्दल मण्डलले अध्यक्ष वार्तामा नआएको भन्दै असन्तुष्टि जनाएका छन्।
स्थिति नियन्त्रणमा लिन घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।