वीरगञ्ज । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकार सुनिश्चित गर्न माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।
महासंघको उपत्यका प्रदेश समिति तथा काठमाडौं, ललितपुर र भक्तपुर शाखाको संयुक्त आयोजनामा शनिबार दिउँसो प्रदर्शन गरिएको हो। ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित पत्रकारहरूले सरकारको सञ्चार तथा नागरिक अधिकारसम्बन्धी नीतिको विरोध गरेका छन्।
आम निर्वाचनपछि गठन भएको वर्तमान सरकारबाट सञ्चार क्षेत्रमैत्री नीति आउने अपेक्षा गरिए पनि व्यवहारमा प्रेसमाथि दबाब बढेको र अभिव्यक्ति स्वतन्त्रता सङ्कुचित हुँदै गएको महासंघको आरोप छ। सञ्चारगृह लक्षित गतिविधि बढ्दै जाँदा नेपाली मिडिया क्षेत्र ‘डरलाग्दो स्वनियन्त्रण’को अवस्थाबाट गुज्रिरहेको महासंघले जनाएको छ।
लोकतान्त्रिक व्यवस्थामा सञ्चार क्षेत्रले लामो समयदेखि उठाउँदै आएका मागप्रति सरकारले पर्याप्त चासो नदेखाएको महासंघको गुनासो छ। समानुपातिक विज्ञापन नीति कार्यान्वयन, साना तथा स्वरोजगार सञ्चार माध्यमको संरक्षण र लोककल्याणकारी विज्ञापन व्यवस्थामा समयानुकूल सुधार गर्नुपर्ने माग पत्रकारहरूको छ।
त्यस्तै, श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, सञ्चार क्षेत्रसँग सम्बन्धित आवश्यक संरचनाको गठन तथा पत्रकारहरूको बिमा र सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने माग पनि प्रदर्शनका क्रममा उठाइएको छ।
यसअघि बिहीबार जारी संयुक्त प्रेस विज्ञप्तिमार्फत निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन वितरणमा लगाइएको प्रतिबन्ध हटाउने सर्वोच्च अदालतको आदेशको महासंघले स्वागत गरेको थियो। अदालतको आदेश स्वागतयोग्य भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुनेमा भने महासंघले आशंका व्यक्त गरेको छ।
अदालतको आदेश व्यवहारमा कार्यान्वयन नभए सञ्चार क्षेत्र थप संकटमा पर्ने महासंघको निष्कर्ष छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चारगृहको सुरक्षा र नागरिक अधिकारको संरक्षण सुनिश्चित गर्न सरकारले तत्काल प्रतिकूल नीतिहरू फिर्ता लिनुपर्ने महासंघको माग छ।
संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता, अन्तर्राष्ट्रिय मान्यता तथा लोकतान्त्रिक अभ्यासको सम्मान गर्न सरकारलाई आग्रह गर्दै महासंघले सञ्चारकर्मी, नागरिक अधिकारका पक्षधर तथा सरोकारवालालाई आन्दोलनमा सक्रिय सहभागिता जनाउन आह्वानसमेत गरेको छ।