×

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य सुशील साह कानुले पर्साको पर्सागढी नगरपालिका–५, जिगनामा स्थानीयवासीसँग भेटघाट गर्दै विकास निर्माण तथा जनजीविकासँग सम्बन्धित विभिन्न विषयमा छलफल गरेका छन्। सोही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सागढी नगर कमिटीको आयोजनामा पर्सागढी नगरपालिका–३, बढनियारमा आयोजित खुला रक्तदान कार्यक्रममा समेत उनी सहभागी भएका छन्।

जिगनामा भएको भेटघाटका क्रममा स्थानीयवासीले कृषि, सडक, नाला, स्वास्थ्य, शिक्षा तथा अन्य आधारभूत पूर्वाधारसँग सम्बन्धित समस्या सांसद साहसमक्ष राखेका थिए। किसानहरूले समयमै रासायनिक मलखाद उपलब्ध गराउनुपर्ने माग गर्दै कृषि क्षेत्रका समस्या समाधानका लागि आवश्यक पहल गर्न आग्रह गरेका थिए।

त्यसैगरी स्थानीयवासीले गाउँका सडक तथा नाला निर्माण, स्वास्थ्य सेवा विस्तार, शिक्षा क्षेत्रको सुधार तथा आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न माग गरेका थिए।

स्थानीयले उठाएका समस्या तथा मागलाई सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता सांसद साहले व्यक्त गरे। उनले स्थानीय आवश्यकताका आधारमा विकास निर्माणका योजनालाई प्राथमिकतामा राखेर अघि बढाउने बताए।

जनताको प्रत्यक्ष सहभागिताबाट विकासका योजना प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै सांसद साहले स्थानीयस्तरमा देखिएका समस्या समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा रास्वपा मधेश प्रदेशका यातायात विभाग प्रमुख राम आर्य, रास्वपा क्षेत्र नं. २ का सचिव किशन प्रसाद, रास्वपा वीरगञ्ज नगर सभापति दीपराज पटेललगायत स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।

यसैबीच, रास्वपा पर्सागढी नगर कमिटीको आयोजनामा पर्सागढी नगरपालिका–३, बढनियारमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। प्रतिनिधिसभा सदस्य सुशील साह कानुको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ३ महिलासहित ६० जनाले रक्तदान गरेका छन्।

रक्तदान कार्यक्रममा रास्वपा महाधिवेशन प्रतिनिधि सुधिर पटेल, रास्वपा मधेश प्रदेश यातायात विभाग प्रमुख राम आर्य, रास्वपा क्षेत्र नं. २ का सचिव किशन प्रसाद, रास्वपा वीरगञ्ज नगर सभापति दीपराज पटेल, स्थानीय बुद्धिजीवी तथा रास्वपा पर्सागढी नगर कमिटीका पदाधिकारी र कार्यकर्ताको सहभागिता रहेको थियो।

रक्तदान गर्नेहरूमा प्रमुख अतिथि सांसद सुशील साह कानुसहित रास्वपा महाधिवेशन प्रतिनिधि सुधिर पटेल, मुस्कान दाहाल, होम प्रसाद न्यौपाने, सन्तोष खवास, पोषण पटेल कुर्मी, हर्कबहादुर अर्याल, आशिक अधिकारी, रैतु आलम अन्सारी, कमलेश रायभर, मनोज रायभर र करण आचार्यलगायत रहेका थिए।

कार्यक्रम सफल बनाउन नेपाल रेडक्रस सोसाइटी रेशमको उपशाखाका सह–कोषाध्यक्ष अभिलाष गुप्ता तथा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभ पाण्डेलगायतको विशेष सहयोग रहेको आयोजकले जनाएको छ।

स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै विकासका आवश्यकता पहिचान गर्नुका साथै रक्तदानमार्फत सामाजिक सेवामा समेत सहभागिता जनाइएको आयोजकले जनाएको छ। जनभेटघाट र रक्तदान कार्यक्रमले स्थानीयस्तरमा जनप्रतिनिधि, पार्टी संगठन तथा नागरिकबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

Back to top