×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगन थापाको भारत भ्रमण अन्तिम समयमा स्थगित भएको छ। शनिबार भारत जाने तयारी गरेका थापाको भ्रमण पहिलो चरणमा आइतबारका लागि सारिएको थियो। तर आइतबार पनि उनी भारत नजाने भएका हुन्।

भारतको नयाँदिल्लीमा नेपाली कांग्रेसको जनसम्पर्क समितिले आयोजना गरेको अधिवेशनमा थापालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको थियो। कार्यक्रममा सहभागी हुने तयारी पूरा भए पनि उनले अन्तिम समयमा भ्रमण स्थगित गर्ने निर्णय गरेका छन्।

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सभापति थापाको भारत भ्रमण स्थगित भएको पुष्टि गर्दै यसको कारण ‘नितान्त आन्तरिक र प्राविधिक’ रहेको बताएका छन्। उनले भ्रमणको नयाँ मिति भने हालसम्म तय नभएको जानकारी दिएका छन्।

यद्यपि, भ्रमण स्थगित गर्नुको कारणबारे कांग्रेसले औपचारिक रूपमा विस्तृत जानकारी दिएको छैन। पार्टी स्रोतका अनुसार पछिल्लो समय कांग्रेसभित्र देखिएको आन्तरिक विवाद भ्रमण स्थगित हुनुको प्रमुख कारण हुन सक्ने चर्चा छ।

पार्टीको विदेशस्थित संगठनसँग सम्बन्धित विषय तथा नेतृत्वको भूमिकालाई लिएर कांग्रेसभित्र संस्थापन पक्ष र इतर पक्षबीच मतभेद बढ्दै गएको बताइन्छ। यहीबीच सभापति गगन थापा र इतर पक्षको नेतृत्व गरिरहेका पूर्णबहादुर खड्का पक्षले देशव्यापी राजनीतिक अभियानसमेत सञ्चालन गरिरहेका छन्।

भारत भ्रमण स्थगित भएपछि नयाँदिल्लीमा आयोजित जनसम्पर्क समितिको अधिवेशनमा थापाको सहभागिता नहुने भएको छ भने उनको भ्रमणको नयाँ मिति पछि तय गरिने कांग्रेसले जनाएको छ।

Back to top