एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले पछिल्लो समय सेयर बजारमा आएको गिरावट र लगानीकर्ताले गुमाएको ठूलो रकमप्रति सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सांसद शाहीले फागुनदेखि हालसम्म करिब २ खर्ब १५ अर्ब रुपैयाँ बराबरको रकम सेयर लगानीकर्ताले गुमाएको दाबी गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराएका हुन्।
“फागुनदेखि अहिलेसम्म करिब रु. २.१५ खर्ब (करिब र. २१५ अर्ब) सेयर लगानीकर्ताले रकम गुमाए । सेयर बजार ध्वस्त भयो, रश्मी रिजाल आत्महत्या गर्न बाध्य भइन्, अर्थमन्त्रीज्यू, यो विषयलाई गम्भीरताका साथ लिनुहोस्,” शाहीले लेखेका छन् ।
उनले अर्थमन्त्रीको नीतिका कारण सेयर बजार प्रभावित भएको आरोप लगाउँदै हजारौँ लगानीकर्ता आर्थिक संकट र मानसिक तनावमा परेको दाबी गरेका छन्।
“तपाईंको नीतिका कारण आज सेयर बजार ध्वस्त भएको छ। देशका हजारौँ लगानीकर्ता ठूलो आर्थिक संकट र तनावमा परेका छन्। कतिपय मानिसहरू अत्यन्त कठिन परिस्थितिबाट गुज्रिरहेका छन्,” उनले उल्लेख गरेका छन्।
सांसद शाहीले सेयर बजारलाई स्थिर बनाउन, लगानीकर्ताको विश्वास फर्काउन र बजार सुधारका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेका छन्।