वीरगञ्ज । गुरुपूर्णिमाको पावन अवसरमा पर्साको वीरगञ्ज महानगरपालिका–१२ मुर्लीस्थित विद्या सदन सेकेन्डरी स्कुलको आयोजनामा अन्तरविद्यालय कला महोत्सव–२०८३ भव्य रूपमा सम्पन्न भएको छ। महोत्सवमा वीरगञ्जका १० प्रतिष्ठित विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमअन्तर्गत पाँच समूहमा विभाजन गरी चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो। विभिन्न उमेर समूहका विद्यार्थीहरूले आफ्नो सिर्जनात्मक प्रतिभा प्रस्तुत गर्दै प्रतिस्पर्धामा सहभागिता जनाएका थिए।
प्रतियोगिताको समूह ‘क’ (नर्सरी) मा जीएचपी सेकेन्डरी स्कुलकी बिनिता चौरसिया प्रथम, न्यु वेभ सेकेन्डरी स्कुलकी आकृति कुमारी द्वितीय तथा मिनी ल्यान्ड इङ्ग्लिस सेकेन्डरी स्कुलकी अनुराधा कुशवाहा तृतीय भइन्।
समूह ‘ख’ (एल.के.जी.) मा जीएचपी सेकेन्डरी स्कुलकी अन्जुला राम प्रथम, विद्या सदन सेकेन्डरी स्कुलकी सोनिया मण्डल द्वितीय तथा साइमा खातुन तृतीय भइन्।
समूह ‘ग’ (यू.के.जी.) मा जीएचपी सेकेन्डरी स्कुलका सुन्दरम कलवार प्रथम, विद्या सदन सेकेन्डरी स्कुलका आहान अली द्वितीय तथा अनाया अली तृतीय भए।
समूह ‘घ’ (कक्षा १–२) मा जीएचपी सेकेन्डरी स्कुलका अमन कुमार साह प्रथम, विद्या सदन सेकेन्डरी स्कुलकी शिवानी महतो द्वितीय तथा जीएचपी सेकेन्डरी स्कुलकी साक्षी गुप्ता तृतीय भइन्।
त्यसैगरी, समूह ‘ङ’ (कक्षा ३–५) मा मनकामना सेकेन्डरी स्कुलकी आरुषी कुमारी प्रजापति प्रथम, जीएचपी सेकेन्डरी स्कुलकी आरती सिंह द्वितीय तथा न्यु वेभ सेकेन्डरी स्कुलकी नैना कुमारी तृतीय भइन्।
प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई शिल्ड, पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो। साथै, प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई सान्त्वना पुरस्कार प्रदान गरी सम्मान गरिएको विद्यालयले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक लालबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कला र सिर्जनशीलतामार्फत विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने तथा उनीहरूमा आत्मविश्वास, प्रतिस्पर्धात्मक भावना र रचनात्मक सोचको विकास गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ। विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।