एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई पक्षबीच झडप भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु भएको छ भने थप आठ जना गोली लागेर घाइते भएका छन्। घटनापछि संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ भने गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखहरूसँग आकस्मिक छलफल गरेका छन्।
सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री गुरुङले गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायदत्त पौडेलसँग घटनाबारे विस्तृत जानकारी लिँदै सुरक्षा अवस्थाबारे छलफल गरेका हुन्। गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार घटनाको वस्तुस्थिति, सुरक्षा चुनौती तथा नियन्त्रणका लागि चालिएका कदमबारे गृहमन्त्रीलाई ब्रिफिङ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार झडपका क्रममा प्रहरीको गोली लागेर देवानगञ्ज–३ निवासी २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो। त्यसबाहेक थप आठ जना सर्वसाधारणलाई पनि गोली लागेको पुष्टि भएको छ। उनीहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
सुनसरीका प्रहरी प्रमुख केशवकुमार थेवेका अनुसार घटनामा ९ जना सर्वसाधारण, नेपाल प्रहरीका ८ जना र सशस्त्र प्रहरीका ५ जना गरी कुल २२ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार साउने सोमबारको अवसरमा हिन्दु धर्मावलम्बीले निकाल्ने बोलबम यात्राका क्रममा दुई समुदायबीच विवाद उत्पन्न भएको थियो। स्थानीय सुरक्षा अधिकारीहरूका अनुसार मन्दिर क्षेत्रमा ठूलो आवाजमा डिजे बजाइएको विषय तथा यसअघि सार्वजनिक स्थानमा राखिएको मुस्लिम समुदायको झण्डा हटाएर हिन्दु समुदायको झण्डा राखिएको विषयले पनि विवादलाई थप चर्काएको थियो। त्यसपछि दुवै पक्षबीच झडप सुरु भएको जनाइएको छ।
स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले ३ राउन्ड तथा सशस्त्र प्रहरीले ७ राउन्ड हवाई फायर गरेको सुरक्षाकर्मीहरूले बताएका छन्। यद्यपि, सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव अधिकारीले सशस्त्र प्रहरीले घटनाका क्रममा कुल २० राउन्ड फायर गरेको जानकारी दिएका छन्। घटनाका क्रममा नेपाल प्रहरीका इन्स्पेक्टर राकेश राईसहित सुरक्षाकर्मीहरू पनि घाइते भएका छन्।
घटनापछि सम्भावित थप हिंसा रोक्न जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज, हरिनगर, भुटाहा, कप्तानगञ्ज र घुस्कीलगायतका संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। सुरक्षा व्यवस्था कडा पारिएको छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको अतिरिक्त टोली परिचालन गरिएको छ।
प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, सामाजिक सद्भाव कायम राख्न तथा कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।