अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका विषयमा वार्ता जारी रहेको बताएका छन्।
लगातार तेस्रो दिन पनि दुवै पक्षले एकअर्कामाथि आक्रमण नगरेपछि उनको यस्तो टिप्पणी आएको हो। तर उनले जारी छलफलहरु पनि असफल भएमा भने वासिङ्टन युद्धविरामअघिको सैन्य रणनीतिमा फर्किने चेतावनी दिए।
तेहरानले भने कुनै पनि प्रत्यक्ष वार्ता भइरहेको दाबी अस्वीकार गरेको छ। ट्रम्पका अनुसार शुक्रबार उनले वार्ताका प्रयासहरुलाई असर पर्ने भन्दै इरानमाथिका अमेरिकी हवाई आक्रमण रोक्ने निर्णय गरेका थिए। अमेरिकी आक्रमण रोकिएपछि इरानले पनि आक्रमण नगरेको बीबीसीले जनाएको छ।
यो युद्धविरामजस्तो अवस्था करिब दुई सातासम्म चलेका दैनिक अमेरिकी हवाई आक्रमण तथा दुवै पक्षबीच भएका प्रतिआक्रमणपछि आएको हो, जसले गत जुनमा भएको युद्धविरामलाई प्रभावहीन बनाएको थियो।
त्यतिबेला अमेरिकी सेनाले होर्मुज जलमार्गबाट हुने अन्तर्राष्ट्रिय तेल ढुवानीलाई जोखिममा पार्ने इरानको क्षमता कमजोर बनाउन कारबाही गरेको दाबी गरेको थियो।
यसैबीच, ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले अमेरिकी सेनासँग राष्ट्रपति ट्रम्पका सबै रणनीतिक उद्देश्य पूरा गर्न र त्यसभन्दा पनि बढीका लागि पर्याप्त हतियार, गोला–बारुद र सैन्य भण्डार रहेको बताइन्। उनले अपरेसन एपिक फ्युरीले अमेरिकालाई चुनौती दिँदा के परिणाम हुन्छ भन्ने देखाएको पनि दाबी गरिन्। यसअघि अमेरिकाको हतियार भण्डार रित्तिँदै गएकाले आक्रमण रोकिएको चर्चा भएको थियो।