वीरगञ्ज । वीरगञ्जस्थित ज्ञानदा एकेडेमीमा कानुन सङ्कायमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि ‘लोकसेवा तथा सरकारी सेवाको भविष्य’ विषयक एक दिने उत्प्रेरणात्मक तथा वृत्ति विकास (पेसागत मार्गदर्शन) कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा करिब ६० जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
‘निजामती सेवा तथा लोकसेवा आयोगमा भविष्यको सम्भावना’ विषयमा आयोजित कार्यक्रममा प्रदेश लेखा नियन्त्रक कार्यालयका आठौँ तहका शाखा अधिकृत श्याम उदय ठाकुर प्रमुख वक्ताका रूपमा सहभागी भएका थिए ।
उनले विद्यार्थीहरूलाई लोकसेवा आयोगको तयारी, परीक्षा प्रणाली तथा कानुनका विद्यार्थीहरूका लागि निजामती सेवामा रहेका अवसरबारे विस्तृत जानकारी गराउँदै देशको प्रशासनिक संयन्त्रमा कानुनका स्नातकहरूको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गरे । उनले विद्यार्थीहरूलाई समयमै आफ्नो लक्ष्य निर्धारण गरी योजनाबद्ध रूपमा तयारी गर्न प्रेरित गरेका थिए ।
कार्यक्रम ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा प्रधानाध्यापक राजेन्द्र प्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम प्रमुख वसिम हुसेनले स्वागत मन्तव्यसहित कार्यक्रमको सहजीकरण गरेका थिए ।
अध्यक्ष कोइरालाले विद्यार्थीहरूको वृत्ति विकास र व्यक्तित्व निर्माणका लागि यस्ता व्यावहारिक तथा उत्प्रेरणामूलक कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै भविष्यप्रतिको स्पष्ट दृष्टिकोण विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमको अन्त्यमा सहभागी विद्यार्थीहरूले सरकारी सेवामा प्रवेश गर्ने प्रक्रिया, लोकसेवा आयोगको परीक्षा प्रणाली, तयारीका विधि तथा सेवामा रहेका अवसर र चुनौतीबारे जिज्ञासा राखेका थिए । प्रमुख वक्ताले विद्यार्थीहरूको जिज्ञासाको समाधान गर्दै निरन्तर अध्ययन, अनुशासन र मेहनत नै सफलताको मुख्य आधार रहेको बताए ।