×

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२६, चकरदहस्थित निर्माणाधीन पुलको खाल्डोमा जमेको पानीमा डुबेर दुई जना नाबालिका बालिकाको दुःखद मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार स्थानीय किशोरी ठाकुरका नातिनी तथा प्रभु ठाकुरका दुई छोरी मृत अवस्थामा फेला परेका हुन्। मृत्यु हुनेमा ५ वर्षीया र ३ वर्षीया बालिका रहेका छन्।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान तथा आवश्यक मुचुल्का तयार गरेको छ। दुवै बालिकाको शव परीक्षण (पोस्टमार्टम) का लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

स्थानीयवासीका अनुसार निर्माणाधीन पुलको जग खन्दा बनेको गहिरो खाल्डोमा वर्षाको पानी जमेको थियो। निर्माणस्थल वरपर सुरक्षा बार, जाली वा सचेतनामूलक संकेतसमेत नराखिएकाले खेल्ने क्रममा बालिकाहरू खाल्डोमा खसेर डुबेको आशंका गरिएको छ।

घटनापछि स्थानीयवासीले निर्माण व्यवसायी तथा सम्बन्धित निकायको गम्भीर लापरवाहीप्रति आक्रोश व्यक्त गरेका छन्। विकास निर्माणका नाममा खनिएका खाल्डाखुल्डीलाई वर्षौंसम्म असुरक्षित अवस्थामा छाड्दा यस्ता दुःखद घटना दोहोरिने गरेको भन्दै उनीहरूले जिम्मेवार पक्षमाथि आवश्यक कारबाही गर्न माग गरेका छन्।

प्रहरीले घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ। साथै, घटनासँग सम्बन्धित सबै पक्षको भूमिका अनुसन्धान गरी कानुनी प्रक्रियाअनुसार आवश्यक कारबाही अघि बढाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Back to top