×

चिकित्सकको लापरवाहीले शिशुको मृत्यु भएको आरोप सेलाउन नपाउँदै नारायणी उपक्षेत्रीय अस्पतालले अर्को आरोप खेप्नुपरेको छ । अस्पतालले बच्चा सोटेको आरोप लगाउँदै ओपीडीमा तालाबन्दी गरी मुख्य गेट अगाडि टायर बालेर विरोध प्रदर्शन गरेका छन् । प्रदर्शन र हो-हल्लाका कारण दिनभर जस्तो अस्पताल परिसर तनावग्रस्त बनेको थियो ।वीरगञ्ज महानगरपालिका २६ की सुनीता देवीलाई मंगलबार बिहान इरिक्सामा भाउजु र काकीसँग नारायणी उपक्षेत्रीय अस्पताल आएकी थिइन् । अस्पताल नपुग्दै इरिक्सामै सुनिताले बच्चा जन्माइन् ।सरसफाइ र सालनाल काट्नका लागि बच्चा र आमा दुबैलाई साढे ७ बजेतिर अस्पताल भर्ना गरियो ।तर, सुनीताका बुवा इंगराशन राउत कुर्मीले सरसफाइ गर्ने क्रममा नै नर्सले बच्चा साटेको आरोप लगाएका छन् । ‘जन्मिदा छोरा थियो । सालनाल काटेर ल्याउँदा छोरी थमाइयो’ बच्चाका हजुरबुबा कुर्मीले भने ‘छोरो जन्मेको खुशीमा इरिक्सा चालकलाई समेत ६ सय रुपैयाँ मिठाई खान भनी दिएको छु । नाती जन्मेको खबर सबै आफन्तलाई सुनाइसकेको थिए । अस्पतालमै गडबडी भएको छ ।’अस्पतालले बच्चा साटेको भन्दै कुर्मीका परिवारजनले पनि होहल्ला गर्दै विरोध प्रदर्शन गरेका थिए ।यसअघि वीरगञ्ज १७ बहुअरीकी २३ वषर्ीया रिनादेवीका परिवारले चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको आरोप लगाएका हुन् ।रिनाका श्रीमान सुरजकुमारले भने ‘घटनाबारे छानबिनको माग राखे पनि अस्पताल प्रशासनले सुनवाई गरेको छैन । महिला र बच्चाको स्वास्थ्य परिक्षण रिर्पोट पनि दिएको छैन । हामी प्रशासनमा उजुरी दिने तयारीमा छौं ।’नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुल हकले भने दुबै आरोप अस्वीकार गर्छन् ।अस्पतालको वातावरण विगार्ने प्रयास भइरहेको भन्दै उनले भने, ‘हामी अस्पतालमा सुधार गर्न खोजिरहेका छौं । तर, दिनका दिन विभिन्न बहानमा अस्पतालमा समस्या सृजना गर्ने र वातावरण विगार्ने काम भइरहेको छ ।’

चिकित्सकबाट गल्ती भए नभएको स्वतन्त्र निकायबाट घटनाहरुको छानबिन गर्न सकिने उनले बताएका छन् ।

Back to top