बीरगंज, १९ असार । चालु आर्थिक वर्ष २०७५ र ७६ मा सरकारले घोषणा गरेका १ सय पर्यटकीय गन्तव्यका लागि आगामी वर्ष पनि ५० करोड बिनियोजन गरिएको छ ।
जसअन्र्तगत प्रदेश २ बाट घडीअर्वा पोखरी (पर्सा), सिम्रौनगढ (बारा), पतौरा पुरात्वात्विक महादेव मन्दिर (रौतहट), छिन्नमस्ता (सप्तरी), सहलेस दरवार पर्यटन क्षेत्र (सिरहा), नाडी ताल (सर्लाही, धनेश्वर महादेव पर्यटन विकास क्षेत्र (धनुषा), जलेश्वर मन्दिर (महोत्तरी) लगायतका पर्यटकिय स्थलहरु समावेश भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आगामी वर्ष १ सय गन्तव्यमा पर्यटकीय पूर्वाधार निर्माण गर्न ५० करोड रुपैयाँ विनियोजन गरिएको हो । चालु आर्थिक वर्षमा सरकारले यी गन्तव्यका लागि ५० लाख रुपैयाँका दरले बजेट बिनियोजन गरेको थियो ।
यो रकम सम्बन्धित स्थानीय तहमार्फत खर्च भइरहेको मन्त्रालयको योजना तथा मूल्यांकन महाशाखा प्रमुख तथा सहसचिव नीता पोखरेल अर्यालले बताउनुभयो ।
देशभरका ७७ वटै जिल्लाबाट कम्तिमा एक गन्तव्य नछुट्ने र ७ वटा प्रदेशबाट कम्तिमा १० गन्तव्य पर्ने गरी छनोट गरिएको थियो । नेपालको पर्यटन लामो समयदेखि सिमित गन्तव्यमा केन्द्रित छ । यसलाई बिस्तार गर्दै हरेक जिल्लामा कम्तिमा एक नयाँ गन्तव्य स्थापित गर्ने लक्ष्यसहित सरकारले लिएको छ । महाशाखा प्रमुख अर्यालका अनुसार यी गन्तव्यमा दिएको रकम पूर्णतया पूर्वाधार विकासमा खर्च गर्नुपर्नेछ ।