×

वीरगञ्ज, २२ बैशाख । नयाँ भेरियन्टसहितको कोरोना भाइरसले भयावह बनाएको वीरगञ्जमा ‘कोभिड : यथार्थ र भ्रम, के गर्ने/के नगर्ने’ विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल युवा उद्यमी मञ्च वीरगञ्ज च्याप्टरले आयोजना गरेको भर्चुअल कार्यक्रमका मुख्य वक्ता नारायणी अस्पतालका बरिष्ठ फिजिसियन डा. निरज सिँहले कोभिड १९ को यथार्थ र भ्रमका बारेमा प्रकाश पारेका थिए । विश्वभरी फैलिएको कोरोना भाइरसले संक्रमित हुने र मृत्यु हुनेको संख्या उकालो लाग्ने क्रम नरोकिएपनि मानिसले अँझै पनि सामान्य अवस्थामा लिएर लापरवाही गरेकोमा डा. सिँहले आपत्ति जनाए ।

उनले भने, ‘अहिले विभिन्न बहानामा  सिजनल ज्वरो भनेर  पन्छिने अवस्था छैन । कोरोनालाई गम्भिर रुपमा लिएर सुरक्षित रुपमा स्वास्थ्य सावधानी अपनाउन आवश्यक छ ।’ एक पटक प्रयोग गरेको मास्कलाई गोजीमा राख्ने र पुनः प्रयोग गर्ने, धेरै समयसम्म प्रयोग गर्ने, हातले अनुहारहरु छुने जस्ता सानासाना कुराहरुमा लापरवाही गर्दा संक्रमणको प्रबल सम्भावना हुने डा. सिँहको भनाई छ । कोरोना भाइरस शरीरमा प्रवेश गरेपछि सर्वप्रथम फोक्सोमा प्रवेश गरेर निमोनिय बनाई श्वासप्रश्वासमा समस्या सृजना हुने हुँदा सचेतना अपनाउनुपर्नेमा डा. सिँहले जोड दिए ।

स्वाब परीक्षणको प्रक्रियादेखि संक्रमितहरुको उपचार, संक्रमणमुक्त हुने अवस्थासम्मको बारेमा सहभागीहरुलाई डा. सिँहले प्रकाश पारेका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का अध्यक्ष गणेश लाठले परीक्षणको दायरा बढाउनुका साथै आम नागरिकको मनोवल उच्च पार्नुपर्ने आवश्यक्ता औँल्याए । लाठले भने, ‘कोभिड १९ का कारण सृजित समस्याहरुको समाधानका निम्ती सरकारले सक्रियता नदेखाएको यथार्थता एकातिर छ । तर हामी भने आफ्नो दायित्वबाट पछि हट्न हुँदैन ।’ भौतिक रुपमा सहभागी हुने वातावरण नभएपनि भर्चुअल रुपमा सामाजिक सञ्जालको प्रयोग गर्दै सचेतना फैलाउनुपर्ने लाठको भनाई छ ।

कार्यक्रममा बरिष्ठ उद्योगी राजेन्द्र खेतानले संघिय राजधानी काठमाण्डौको अवस्थाबारे जानकारी गराउँदै वीरगञ्जमा अक्सिजनको अभाव हुन नदिन आवश्यक सहयोग गर्ने दृढता व्यक्त गरे । कार्यक्रममा युवा नेता एवम् सामाजिक अभियानता अर्विन्द सिँह, भोलुन्टियर समूहका संयोजक राजन श्रीवास्तव, सन्दिप सर्राफ लगायतले आफ्नो अनुभव पनि सुनाएका थिए । 

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २, वीरगञ्ज साइक्लिंग क्लब, समस्त लायन्स क्लब वीरगञ्ज एरिया र डाइनामिक टेक्नोसफ्ट प्रा.लि लगायतको सहकार्यमा भएको कार्यक्रम १ लाख १० हजारभन्दा धेरैजनाले फ्लो गरेको यात्रा डेलीको फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गरिएको थियो । 

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध कुमार गुप्ता, नेपाल युवा उद्यमी मञ्चका केन्द्रिय अध्यक्ष प्रकाशदेव पालिके, लायन्स क्लबका रमेश अग्रवाल, डिएन अग्रवाल, वीरगञ्ज साइक्लिंग क्लबका अध्यक्ष सञ्ज्य अग्रवाल, नेपाल युवा उद्यमी मञ्च वीरगञ्जका बरिष्ठ उपाध्यक्ष राकेश साह, सन्दिप अग्रवाल, मनिषा सुनुवार श्रेष्ठ, पंकज अग्रवाल, अक्षत साह, आशु सर्राफ, विश्वप्रताप साह लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको समापन गर्दै नेपाल युवा उद्यमी मञ्च वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले नागरिकलाई सचेतना जगाउने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको बताए । कोभिड १९ को महामारी नियन्त्रण तथा रोकथामका लागि जारी गरिएको निषेधाज्ञाका बिचमा भर्चुअल रुपमा जागरुप फैलाउने आयेजित पहिलो कार्यक्रममा उत्साहजनक उपस्थितीले आगामी दिनमा पनि अँझै सशक्त रुपमा चेतनामुलक कार्यक्रम गर्ने हौसला प्राप्त भएको अग्रवालले बताए ।

कार्यक्रममा पर्सा, बारा, काठमाण्डौ, जनकपुर, पोखरा, सुदुरपश्चिम प्रदशको कैलाली लगायतका ठाउँबाट आवद्ध भएका थिए । कार्यक्रमको सहजिकरण सञ्चारकर्मी सूर्यनारायण वि.क.ले गरेका थिए । 
 

Back to top