×

मध्य तराईवासीका लागि सहज स्वास्थ्योपचार पाउने गन्तव्य बनोस् भनेर नारायणी अस्पताल स्थापना भयो । न्यून आए भएका परिवारका सदस्य विरामी परिहालेमा सबैभन्दा पहिले सम्झने भनेकै सम्भवतः नारायणी अस्पताल हो । निजी स्वास्थ्य संस्थाहरूले स्वास्थ्य सेवालाई व्यापार बनाइरहँदा नारायणी अस्पतालले स्थापनाको उद्देश्य अनुरूप मान्यता जोगाइराखेकै छ । भलैपूर्णरुपेण सेवाभावको अनुभूति दिलाउन भने बेलाबेलामा चुकिरहेकै किन नहोस् !

विपन्न वर्गले धेरै आर्थिकभार नब्यहोरेरै यथोचित उपचार पाउन सक्ने सम्भावना त हुन्छ यहाँ । तर त्यसका लागि अस्पतालका सबै इकाइ र जनशक्तिमा इमान्दारीता आवश्यक रहन्छ । नारायणी अस्पतालले सामान्य शुल्क तिर्न नसक्नेहरूलाई निशुल्क उपचार समेत गर्दै आएको छ । यद्यपि निशुल्क उपचारको पारदर्शिता र यसको उपादेयतामा पनि प्रश्न नउठ्ने भने होइन ।

सुलभ र कतिपय अवस्थामा निःशूल्क समेत उपचार गर्दै आएको नारायणी अस्पतालप्रति किन निरन्तर विश्वास खस्कँदो छ त ? लोककल्याणकारी भावले स्थापना भएको अस्पतालले किन आफ्नो वजुद जोगाउन सङ्घर्ष गर्नुपरेको होला ? यसमा नारायणी अस्पतालको नीति दोषी छ वा यहाँ आवद्ध भएकाहरूको क्रियाकलाप ? वा हामी समुदाय र सेवाग्राही नै दोषी छौं त ? गम्भीर समीक्षा गर्दै नारायणीको उद्देश्य अनुरूपको मान्यता अटल राख्न सुधारात्मक उपायहरू पहिल्याउनु जरूरी भइसकेको छ ।

नारायणी आफैँमा खराब भने पक्कै होइन । यसका जिम्मेवारहरूले जस्तो गतिविधि गर्छन् सोही अनुसार यसको स्वरूप बन्ने हो । सरकारको, हाम्रो जिम्मेवारी पनि नरायणीप्रति अवश्य होला । तर सबैभन्दा बढी जिम्मेवार तिनै व्यक्तिहरू हुनुपर्छ जो यसमै आबद्ध र आश्रित छन् । सरकारले वा हामीले स्रोतसाधन, जनशक्ति त उपलब्ध गराउन सकौंला तर तिनलाई चलायमान बनाउने दायित्व त त्यहिँ आवद्ध भएकाहरूको न हो !

नारायणीमा कार्यरत अधिकांश चिकित्सकका आफ्नै क्लिनिक छन् । क्लिनिक नभएकाहरू निजी स्वास्थ्य संस्थाहरूमा जोडिएका छन् । निजी अस्पतालका विशेषज्ञ चिकित्सकहरू नारायणीमा पनि विशेषज्ञका रूपमा कार्यरत रहेको जोकोहीलाई थाहै छ । यस्ता चिकित्सकहरूको समय, चासो र ध्यान प्रायः निजी तिरै भएको देखिन्छ । नारायणीमा भन्दा निजी स्वास्थ्य केन्द्रहरूमा उनीहरू बढी जिम्मेवार रूपमा प्रस्तुत हुन्छ । कारण, त्यहाँको प्रशासन र व्यवस्थापन चुस्त छ । अनि बढ्ता लाभ पनि त्यतै छ । फेरि कुनै चिकित्सकीय कमजोरी भइहाल्यो र मिडियामा आयो भने त्यसले पुर्या उने क्षयप्रति उनीहरू बढी सचेत देखिन्छन् । तर यस्तो सचेततायुक्त जिम्मेवारी नारायणीमा छँदा  भने हराउन पुग्छ ।

निजी अस्पतालहरूमा उपकरणहरूको उपलब्धता र मरम्मतसम्भारमा पर्याप्त ध्यान दिइन्छ । नारायणीमा उल्टो भइरहेको हुन्छ । सुविधायुक्त नयाँ उपकरणहरू ल्याउन त परै जाओस् भएकै उपकरणहरू पनि उपयोगमा नल्याउने प्रपञ्च रचिएको हुन्छ ।

किन पनि भने, नारायणीमा उपचार गर्दा केही तलमाथि भाइहालेमा वा असावधानीवस विरामीको ज्यानै गएमा पनि उपचारमा संलग्न चिकित्सकहरू प्राय दोषीठहरिँदैनन्। त्यसको जिम्मेवार मेडिकल सुपेरिटेन्डेन्ट वा सरकारलाई ठहर्यारइन्छ । उपकरण थिएन, उपकरण बिग्रेको थियो, कर्मचारी थिएनन्, मेरो ड्युटीको समय थिएन जस्ता बहाना बनाएर चिकित्सकहरू उम्किन्छन् । 

त्यसो त विरामीले यथोचित उपचार नपाएका सबै केसमा सबै दोष चिकित्सककै मात्र पनि हुँदैन । उपकरण खरिद नगर्ने जिम्मेवार भनिएका अधिकारीहरू, सक्षम हुँदाहुँदै पनि आवश्यक जनशक्ति भर्ना नगर्ने अस्पतालको नेतृत्व र भूमिका निर्वाह नगर्ने सबै तहका सरकार उत्तिकै दोषी छन् ।

उपलब्ध उपकरणहरूको प्रयोगमा पहिलो चासो सम्बन्धित विशेषज्ञ चिकित्सकहरूकै हुनुपर्छ।  आफूले चासो नै नदिएर अस्पतालको नेतृत्वले वा सरकारले गरिदिएन भन्ने छुट विशेषज्ञ चिकित्सकहरूलाई हुनुहुँदैन ।  तर आफूसँग भएका उपकरणहरू समेत प्रयोगमा नल्याइ विरामीलाई विचल्लीमा पार्ने र बदनामी कमाउने हर्कत नारायणी अस्पतालमा भइरहेको छ। स्टोरमा उपकरण थन्क्याएर विरामीलाई निजीतिर लखेट्ने प्रवृत्ति हावी छ ।

अघिल्लो वर्ष बहुदरमाई–५ भौराटारका अन्दाजी ३५ वर्षीय युवक हातभाँचिएपछि वीरगञ्जमा नाम चलेका अर्थोपेडिक चिकित्सकसँग आकस्मिक उपचार गराउन निजी अस्पतालमा पुगे। आर्थिक रुपमा कमजोर उनले त्यहाँको शल्यक्रिया खर्च व्यहोर्न नसक्ने थाहा पाएपछि नारायणी अस्पतालमा उपचार गर्ने चाह राखे र त्यहाँ गए। नारायणीमा तिनै चिकित्सकले ति विरामीलाई हेर्नुपर्ने भयो । तर हप्ता दिनसम्म पनि ति चिकित्सकले भाँचिएको हातको शल्यक्रिया गर्न मानेनन् । ‘नारायणीमा शल्यक्रियाका लागि आवश्यक उपकरण छैन, उपकरण खरिद गर्न कम्तिमा ६ महिना लाग्छ, शल्यक्रिया हुँदैन’ भन्दै ति विशेषज्ञ चिकित्सकले आफ्नै अस्पतालमा फर्काउन जोडबल गर्थे।

तर पछि तत्कालिनमेसुसम्म यो कुरा पुगेपछि थाहा भयो उपकरण त अस्पतालको स्टोरमा उपलब्ध रहेछ। अर्थो विभागले जानाजाननलिएको मात्र रहेछ! चौतर्फी दबाबपछि ति युवकको नारायणीमै शल्यक्रिया भने भयो। यसरी निजी अस्पतालमा विरामीलाई जान बाध्य पारेर रकम थुत्न उद्धत यहाँका चिकित्सकहरूले मुख्यगरी  नारायणी अस्पतालको बदनाम गरिरहेका छन् ।

गत चैतमा नरायणी अस्पतालमा यस्तै प्रकृतिकोअर्को घटना पनि बाहिरियो। मेरै एक मित्रका आफन्तको पाठेघरमा समस्या थियो। रक्तस्राव उच्च भइरहेको थियो। नारायणीमा गएर प्रशुति रोग विशेषज्ञसँग उनलाई देखाइयो । जहाँ तत्कालै शल्यक्रिया गर्नुपर्ने तर यहाँ उपकरण नभएको भन्दै आफू कार्यरत निजी अस्पतालको ठेगाना थमाइयो। निजी अस्पतालको उपचार खर्च धान्न नसक्ने भएर विरामीलाई घरमै राखियो। विरामीको रक्तश्राव नरोकिएर धेरै नै समस्या भएपछि विभिन्न संघ–संस्थाहरूको पहलमा अस्पताल भर्ना गरियो। तर चिकित्सकहरूले त्यस्तो गम्भीर प्रकृतिका विरामीलाई पनि एक हप्तापछि शल्यक्रियाको समय दिए । धन्न वीरगञ्जका सामाजिक अगुवाहरूको दबाबमा दुई दिनमै शल्यक्रिया गरियो ।

हालसालै इरिक्साको ठक्करबाट घाइते पुजाको केसमा पनि नारायणीका चिकित्सकहरूले लापरवाही देखाए। सर्जनहरूले पुजाको अवस्थाबारे ठोस जवाफ दिइरहेका थिएनन्। पुजाको अवस्था विग्रँदै गइरहेको थियो। त्यसैबेला सानो पाइला लगायतका संस्था तथा सामाजिक अगुवाहरूको पहलमा पुजालाई काठमाडौं लगियो र उपचार सम्भव भयो ।

बाहिर आएका यी घटनाहरू नारायणी अस्पताललाई त्यहाँका चिकित्सकहरूले कुन हदसम्म नाजायज कब्जा गरेका छन् भन्ने जान्न पर्याप्त छन् । हास्य कलाकार आदर्श मिश्राको बुबाको मृत्युको घटनामा पनि नारायणी अस्पतालको चरम लापरवाही र गैह्रजिम्मेवारी प्रष्ट देखिइसकेको छ। त्यहाँका १३ वटा डायलासिस मेसिनमध्ये ७ वटा पहिले देखिनै बिग्रेका छन्। बाँकी ६ वटामध्ये ४ वटा ननकोभिड र २ वटा कोभिडको बिरामीका लागि छुट्टयाइएको छ। कोभिडको लागि छुट्टयाइएका २ वटा मध्ये पनि एउटा पूर्णरूपमा बिग्रिएको छ र अर्कोले आंशिक मात्र काम गरिरहेको छ।

यस्तो अत्यावश्यक मेसिनको मरम्मतसम्भारमा पनि अस्पताललाई कुनै परवाह छैन। भएका मेसिनहरूको यथोचित मरम्मत र व्यवस्थापनमा अस्पताल प्रशासन र चिकित्सकहरू चुकेको प्रष्टै हुन्छ।
विग्रिएका मेसिन बनाउन समस्या भएको भए जिम्मेवार भनिएकाहरूबाट यसअघि किन कुनै पहलकदमी भएन ? अस्पतालको नेतृत्वबाट वेवास्ता भएको भए त्यसबारे अन्य सरोकारवालाहरूसम्म किन जानकारी गराइएन ? यसको जवाफ जिम्मेवारहरूले दिनै पर्छ। एकअर्कोमा दोषारोपण गरेर पक्कै उन्मुक्तिपाइँदैन।

जिम्मेवार व्यक्तिहरूले इच्छाशक्ति राखेमा धेरै कुराहरू हुन सक्छन्। नारायणी अस्पतालमा कोभिडका विरामीहरूका लागि खाद्यान्न आपूर्ति रोकिने भएपछि हालसालै त्यहाँका एक चिकित्सकले गरेको सार्वजनिक अपिलमा थुप्रै व्यक्ति र संस्थाहरूले चासो देखाए। र, यो विषय अब समाधानोन्मुख देखिएको छ।

नारायणीका डायलासिस विभागीय प्रमुख डक्टर निरज सिंहले पनि आन्तरिक केही समस्या भए अन्य सरोकारवालाहरूको सहयोग लिन सक्नुपर्थ्यो। त्यसो गरेको भए सायद अहिले उनले सामाजिक सञ्जालमा प्रष्टिकरण दिइरहनु पर्दैनथ्यो होला ।

प्रष्ट भन्नुपर्दा नारायणी अस्पतालमै आवद्ध चिकित्सकहरूबाट त्यहाँको साख गिराउने काम भइरहेको छ। नारायणीमा गलत तत्वहरूको सिन्डिकेट यति जब्बर छ कि सहजै तोडिन सक्ने अवस्थामा छैन। भनिन्छ, तत्कालीन मेसु र चिकित्सक/कर्मचारीबीच उत्पन्न तनावयही सिन्डिकेटधारी र तोड्न चाहनेबीचको टसलको परिणाम थियो। पछि तत्कालिनमेसु रेम्डेसिभिर प्रकरणको विवादमा तानिनुलाई पनि कतिपयले सिन्डिकेट तोड्न खोज्दाको‘उपहार’ भनेर चर्चा गर्ने गरेका छन्। जे होस्, नारायणी अस्पतालमा सिन्डिकेट तोड्न खोज्नेले चौतर्फी असहयोगको सामाना गर्नुपरेका दृष्टान्तहरू प्रशस्तै छन्।

यतिबेला डा विरेन्द्रबहादुर प्रधानले नारायणी अस्पतालको मेसुको जिम्मेवारी पाएका छन्। त्यहाँका विशेषज्ञ चिकित्सकहरूबाट भरपूर सहयोग लिने कार्यनीति लिएर मेसु प्रधान अघि बढिरहेका संकेतहरू देखिएका छन्। विशेषज्ञ चिकित्सकहरू जो सामाजिक सञ्जालमा लोकप्रिय छन्, उनीहरूसँगसम्बन्ध सुमधुर बनाउन मेसु प्रधान लागिपरेको भान हुन्छ। सायद पछिल्लो समय नारायणी अस्पतालमा गरिएको जिम्मेवारी हेरफेरले पनि त्यस्तै बताउँछ।

नारायणी अस्पतालमा फैलिएको अराजकताको जालोबाट पार पाउन सबैभन्दा पहिले त्यहाँ कार्यरत जनशक्तिलाई नै जिम्मेवार बनाउन जरूरी छ। सिन्डिकेट तोड्न नसक्ने हो भने विरामीहरूको उपचारमा हुँदै आएको खेलाँची पनि रोकिने छैन। समुदायका लागि स्थापित अस्पतालको रेखदेख र सेवाप्रवाहको वस्तुस्थिति बुझ्ने मुख्य जिम्मेवारी समुदायकै हो। समस्या देखेमा नेतृत्व फेर्न हामी झट्टै आवाज त उठाइहाल्छौं तर जिम्मेवार व्यक्तिले के–कस्तो जिम्मेवारी निर्वाह गरिरहेको छ भनि हामी निगरानी गरिरहँदैनौं। उसको जिम्मेवारीप्रति बेलाबेलामा सचेत गराइरहने दायित्व वहन पनि गर्दैनौं। खबरदारी गर्नेमा हामीलाई खासै मतलब छैन। यस्तो परिवेशमा अस्पताल अस्तव्यस्त भयो भनेर नेतृत्वकर्ता र जनशक्तिलाई मात्र जवाफदेही ठहर्यालउनु उपयुक्त हुँदैन। 

अस्पतालको नेतृत्वकर्ता, त्यहाँ कार्यरत जनशक्ति अनि समुदायको सहकार्यमा मात्र नारायणी अस्पतालको सेवाप्रवाहमा सुधार ल्याउन सकिन्छ। जसका लागि नेतृत्वदायी जिम्मेवारीमा रहेका हिसाबले मेसुबाट अग्रसरता आवश्यक हुन्छ। मेसुमा नियुक्त डा प्रधानलाई सबैपक्षलाई विश्वासमा लिएरसहज स्वास्थ्योपचार उपलब्ध गराउँदैनारायणी अस्पतालको गुमेको साख फर्काउन सफलता मिलोस् । शुभकामना !
 

Back to top