राकेश यादव “मितवा” :
वि.स. २००६ चैत २७ गते नेपाल राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसको एकिकरणबाट स्थापित नेपाली काँग्रेस कसुरवार पार्टी हो । नेपालमा ’राष्ट्रियताको संरक्षण र संवर्धन गर्दै प्रजातान्त्रिक समाजवाद’ स्थापना गर्ने नारा लिएको नेपाली कांग्रेसले नेपाललाई परिवर्तनको बाटोमा डो-याउनु नै मुख्य कसुर गरेको हो ।
वर्तमान सन्दर्भमा राष्ट्रियता, लोकतन्त्र, समाजवादको आदर्श एवं सिद्धान्त अनुरूप सङ्घीय गणतन्त्रात्मक राज्य, बहुलवादमा आधारित बहुदलीय व्यवस्था तथा संसदीय शासन प्रणालीको माध्यमबाट नेपालमा न्यायपूर्ण गतिशील र शान्तिपूर्ण समाजको निर्माण गरी सामाजिक, राजनीतिक तथा आर्थिक विकाश गर्ने उद्देश्य राखेको पार्टी नेपाली काँग्रेसलाई छोडेर अन्य पार्टीसँग लगनगाँठो जोड्न सफल भएकाहरुका लागि, चारतारे झण्डा र रुख चिन्ह्को दुरुपयोग गर्नेहरुका लागि नेपाली काँग्रेस कसूरवार हो ।
व्यक्तिगत अभिलाषाहरुलाई थाँती राखेर समुन्नत समाजको निर्माण गर्ने सपना बोकी प्रजातन्त्र समाजबादको नारा घन्काउने नेपाली कांग्रेसको बारेमा इतिहास साँची छ, धेरै बयान गर्नुपर्छ जस्तो मलाई लाग्दैन । विपी जस्ता समाजवादी, सुवर्ण शम्शेर जस्ता निष्ठावान, कृष्णप्रसाद भट्टराई जस्ता सन्त, गणेशमान जस्ता उदारवादी सपुतहरुको त्याग, तपस्या र बलिदानीबाट अहिले हामीले सिर ठाडो बनाउन पाइरहेको कुरा नकार्न सकिन्न । कर्तव्य पालनबाट विमुख नहुने काँग्रेस, दशकौँ पहिलेदेखि देशलाई ठुला–ठुला द्धन्दबाट सही मार्गमा निर्देश गरी डो¥याउने काँग्रेस । नेपाली शिखर पुरुषको रुपमा परिचित एसियाकै महान नेता गिरिजा प्रसाद कोईरालाको कुशल कौशलताका कारण देशले प्राप्त गरेको शान्तिपूर्ण दिशाका कसूरको श्रेय नेपाली काँग्रेसले नै पाउनुपर्नेमा कुनै दुई मत नै छैन ।
अस्थिरता, अशान्त एवम् द्वन्दको बाटोबाट नेपाललाई सहीमार्गमा डो¥याउने परिवर्तनका क्रान्तिहरुको नेतृत्व नेपाली कांग्रेसले नै गरेको भनेर पार्टीकै नेता कार्यकर्ताले विश्लेषण गरेको पाइन्छ ।
अपुग प्रमाण र अर्ध चेतनाका बाब्जुद नेपाली काँग्रेसमाथि प्रश्न प्रश्न तेस्र्याउने अल्पज्ञानीहरुको नजरमा कांग्रेस पक्कै पनि कसुरवार हो । राजतन्त्रको अन्त्य, प्रजातन्त्रको स्थापनादेखि लिएर अन्य थुप्रै परिवर्तनको संवाह नेपाली कांग्रेस कसुरवार हो ।
संघीयताको स्वरुपमा रुपान्तरण भएपनि, झण्डै दुई तिहाई बहुमत प्राप्त सरकारबाट जनताले गरेको आशाले सार्थकता पाउन नसकेपछि पुनः नेपाली कांग्रेसकै नेतृत्वको सरकारको आवश्यक्ता खट्किएको आभाष आम नागरिकले गरीरहेको यथार्थता कसैसामु लुकेको छैन ।
समयले काँचुली फेर्दै जाँदा देशको राजनीतिक अवस्था पनि परिवर्तन हुँदै गयो । विचारमा फाटो आएपनि नेपाली कांग्रेस पार्टी छोड्ने पनि केही थिए भने अर्काेतर्फ विचार र एजेण्डाबाट प्रभावित भएर प्रवेश गर्नेहरुको लहर पनि लामै थियो र अहिले पनि छ भन्दा फरक नपर्ला ।
नेपाली कांग्रेसको ओजपूर्ण इतिहासको संक्षिप्तीकरण र समय समयमा कांग्रेसले गरेका कसुरहरुको बारेमा आम नेपाली जनतालाई सुसुचित गराउने प्रयत्न गरेको छु ।
कसुरहरुको फेहरिस्त
पहिलो कसुर : राणाहरुको गाली खाने कांग्रेस :
२००७ सालतिर राजा त्रिभुवनसँग मिलेर १०४ वर्षीय जहाँनिय राणा शासनको विरुद्ध सर्घष गरी नेपालमा प्रजातन्त्रको स्थापना गर्नु र नेपाली जनतालाई लिखित संविधान अर्थात देश संचालनका केही अधार एवम् मापदण्डको माग गर्ने कांग्रेस नै हो । राणा कालीन शासनमा राणाहरुले जे बोल्यो त्यही नै शासन हुने परिवेशमा बोलेको नभएर लिखित रुपमै संविधान चाहिन्छ भनेर माग गरेकै कसुरका कारण नेपाली काँग्रेसका शत्रुहरुको सूचीमा केही थान शोषकहरु दुश्मनको अवतारमा थपिए । आज उनीहरुका लागि निश्चय नै नेपाली कांग्रेस १ नम्बरको कसुरदार हो ।
दोस्रो कसुर : राजाहरुकोे गाली खाने कसुर :
२०१५ सालको प्रथम संसदीय आम निर्वाचनवाट दुई तिहाई भन्दा बढी मत प्राप्त गरी नेपाली जनताको विजयी सरकार गठन गर्ने सुअवसर प्राप्त गरेको नेपाली काग्रेसले जन अपेक्षा अनुसारको कार्य गर्दा पनि २०१७ पुस १ मा राजाबाट बलात् प्रजातन्त्र राजा हरण हुदाँ राजाको विरुद्ध जनआन्दोलनको विगुल फुक्ने नेपाली कांग्रेस कसुरवार नै हो त ?
तेस्रो कसूर :
२०१७ सालमा राजाबाट प्रजातन्त्र हरण भए पश्चात आन्दोलनको घोषण गर्नु राजा र पञ्चहरुको गाली खाने काँग्रेस, २०४६ सालमा जनताको लागि बहुदलिय व्यवस्थाको स्थापनाका लागि आन्दोलनको अगुवाई गर्नु र राजतन्त्र, मानवअधिकार, संसदीय शासन प्रणाली र बहुदलीय व्यवस्थालाई प्रत्याभुत गर्ने सफल इतिहास स्मरण गर्दै २०४७ सालमा संविधान जारी गरी दुई स्थानिय तहमा चुनाव गराई प्रजातन्त्र सुदृढ गरेको कांग्रेस निश्चय नै कसुरवार हो ।
चौथो कसुर :
२०५२ सालदेखि भूमिगत भएर द्धन्दको शुरुवात गरेका माओवादीहरुको बन्दुक र गोलीबाट शहिद हुँदै गरेका पुलीस आर्मी अर्कोतिर मओवादीको प्रमुख शत्रुको रुपमा नेपाली कांग्रेसका कैँयौ कार्यकर्ताले मृत्युबरण गर्नुप-यो । यसर्थ देशलाई शान्तिको बाटोतर्फ प्रेरित गर्न अग्रसर्ता देखाउन गाली र गोली खाने कांग्रेस कसुरदार नै हुनुपर्छ ।
पाँचौ कसुर :
२०४७ सालको संविधानबाट निरन्तर चलायमान देशलाई २०५९ सालमा ज्ञानेन्द्रबाट शुरुआत भएको शाही प्रतिगामी कदम र नेपाली कांग्रेसको संसद पुर्नःस्थापनाको मागसँगै माओवादीलाई १२ बुँदे सहमतीमार्फत देशमा गणतन्त्रको अगुवाई गर्ने कांग्रेस निश्चय नै कसुरदार छ । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्म जनताको सार्वभौमसत्ता र राजकीयसत्ता पूर्ण रुपमा जनता निहित भन्ने नाराको पृष्टपोषक २०६२र२०६३ को जनआन्दोलनको अगुवाई गर्ने कांग्रेस २०६५ साल जेठ १५ गते संविधान सभाको पहिलो बैठक बसी नेपालबाट राजतन्त्र अन्तय भएको घोषणा गराउन सफल हुनु नै काँग्रेसको कसुर हो ।
छैँठौ कसुर : २०६४ सालमा उग्र रुपमा आन्दोलनको अगुवाई मधेश केन्द्रित दलको ठुलो दुश्मनको रुपमा रहेको कांग्रेसले रातारात उपेन्द्र यादवलाई वार्तामा बसाई शान्तिपूर्ण तवरले संविधान सभा चुनावमा सामिल गराउन सफल भएको कांग्रेस मधेशी दलहरुको लागि पनि कसुरवार होला ।
सातौँ कसुर :
२०७२ सालको संविधान घोषणा गरी देशलाई सही दिशा दिने कांग्रेस सुशिल कोइरालाको अदमय प्रयास र नेपाली जनताको उत्साहपूर्ण सहभागिताबाट प्राप्त संविधान सभाले केही बुँदाहरुमा त्रुटी भएको स्वीकार गर्दै संशोेधन सहितको संविधान घोषणा गर्नु तराई, पहाड, हिमाल हाम्रो देश नेपालको नारा घन्काउने कांग्रेस निश्चय नै कसुरदार हो ।
देशलाई चाहिएको बेला असल अभिभावकिय भुमिका निर्वाह गर्ने कांगेस आफुलाई नोक्सान भएपनि देशहितलाई सधै माथि राखेर हिडने काँग्रेस कसरी कसुरदार होला यो प्रश्न तपाई हाम्रो सामु उभिएको छ । अभिभावकिय भुमिका निर्वाह गर्ने क्रममा केही गल्तीहरु भएका होलान्, नेतृत्वको स्वार्थ जोडिएर भएपनि नेपाली कांग्रेको अनुहार अलि धुमिल हुन पुगेको होला तर समय सापेक्ष गरिएका क्रियाकलापलाई गहिरिएर हेर्दा र अध्यन गर्दा विगतमा भएका नेताहरुको गत्लीलाई पुर्नअवलोकन गरी नेपाली जनतालाई मुटुमा राखेर राष्ट्र र राष्ट्रियतालाई माया गर्ने एक मात्र पार्टी नेपाली कांग्रेस हो ।
(लेखक नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल विद्यार्थी संघ पर्साका पूर्व अध्यक्ष हुन् ।)