×

१०४ वर्षे राणा शासन अन्त्य गर्दै प्रजातान्त्रिक क्रान्तितर्फको यात्रारम्भ भएको आज ७२ वर्ष लागिसक्यो। ७ दशकभन्दा लामो हाम्रो प्रजातान्त्रिक यात्रा अझैं पनि परिपक्व हुन भने सकेको छैन। सुरुआतदेखि नै निरन्तर प्रहारमा परिरहेको हाम्रो प्रजातान्त्रिक व्यवस्थामाथि आजपर्यन्त थुप्रै चुनौतीहरू देखा परिरहेका छन्।

प्रजातन्त्रमाथि प्रहार गरिरहने संरचनागत तानाशाही व्यवस्थालाई त हामीले परास्त गर्‍यौं। तर, तानाशाही सोंचलाई निमिट्यान्न पार्न सकेनौं। फलत: आज अनेकन बहानामा त्यस्ता निरंकुश तानाशाही सोंचहरू प्रजातन्त्रलाई नै धरापमा पार्न उद्धत भइरहेका देखिन्छन्।

प्रजातन्त्र विरोधी प्रवृत्तिले अझैंपनि टाउको ठड्याउन खोजिरहेकै छ। यस्ता प्रवृत्तिका पात्रहरू फरक-फरक अनुहारमा प्रस्तुत भइरहेका छन्। तर उनीहरूको मक्सद भने उही निरंकुशता र तानाशाही व्यवस्था नै हो। गजब त के छ भने, प्रजातन्त्रको हरण गर्न खोज्ने तिनै शक्तिहरू नै सबैभन्दा बढ्ता क्रान्तिकारी भएर प्रजातन्त्रको दुहाई दिइरहेका छन्!

तत्कालीन राजा महेन्द्रले आर्थिक विकासलाई राजनीतिबाट अलग्याउन र विकासको गतिलाई तानाशाही व्यवस्था अन्तर्गत छिटो दौडाउन सकिन्छ भन्ने भ्रम पालेर १७ सालको काण्ड रचे। उनैका अवशेष र सिको गर्नेहरू पनि ‘महेन्द्रीय भ्रम’बाट मुक्त हुन सकेनन्। सायद उनीहरूले प्रजातान्त्रिक व्यवस्थाको रक्षार्थ नेपाली कांग्रेस अविच्छिन्न कवच हो भन्ने अझैं बुझिसकेका छैनन्!

अनेकन बहानामा अहिलेको व्यवस्थाविरूद्ध नै हुनेगरी विरोध र असहमतिका कर्कस स्वरहरू सुनिँदैछ। कतिपयका व्यक्तिगत र पार्टीगत स्वार्थका अगाडि राष्ट्रिय स्वार्थ गौण भइदिएको छ। यस्ता गैरप्रजातान्त्रिक र स्वार्थी शक्तिहरूलाई काबुमा राख्ने निर्विकल्प उपाय प्रजातन्त्र नै हो। र, प्रजातन्त्रको सच्चा पहरेदार नेपाली कांग्रेस हो।

नेपाली कांग्रेसका संस्थापक जननायक वीपी कोइरालाले भनेजस्तै ‘विरोध र असहमतिहरूलाई अंगाल्दै सामञ्जस्यता राख्ने क्षमता प्रजातान्त्रिक व्यवस्थामा मात्र हुन्छ। नेपाली कांग्रेस क्रान्तिको प्रतीक र क्रान्तिपछि उदय भएको प्रजातान्त्रिक शक्तिको प्रतीक हो। यो शक्तिको कमजोर हुनुको अर्थ नेपालको प्रजातान्त्रिक शक्ति कमजोर हुनु हो। यो सत्यलाई हामी सबैले राम्ररी बुझ्नुपर्छ। सानोतिनो स्वार्थपूर्तिको लागि हामी लाग्न थाल्यौं भने र सानोतिनो स्वार्थका आधारमा बनेका विभिन्न पार्टीहरूलाई हामीले स्थान दिन थाल्यौं भने देशले उन्नति गर्न सक्दैन।’

२००७ सात सालको जनक्रान्ति फगत प्रजातान्त्रिक आन्दोलन मात्र थिएन। यसले राजनीतिक परिवर्तन सँगसँगै मुलुकमा सुदृढ सामाजिक व्यवस्था, विधिको शासन अनि जनअधिकार स्थापित गर्न पनि जग बसालेको हो। नेपाली कांग्रेसको अगुवाइमा भएको जनक्रान्तिकै बदौलत हामीले अहिलेको शासन व्यवस्था हासिल गरेका हौं। अत: नेपाली कांग्रेसलाई प्रजातन्त्रको माया जति छ त्यति नै यसप्रतिको जिम्मेदवारी पनि। यसको रक्षार्थ जस्तोसुकै जिम्मेदारी पनि नेपाली कांग्रेसले अवश्य उठाउँछ।

प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गर्न नेपाली कांग्रेसले जहानियाँ राणा शासनसँग मात्र लड्नु परेन। पञ्चायत हुँदै निरंकुश राजतन्त्रात्मक व्यवस्थाविरुद्ध पनि उत्तिकै संघर्ष गर्नुपर्‍यो। आफ्नो नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याएको नेपाली कांग्रेसले अहिले फेरि यो व्यवस्थाको संस्थागत विकासका लागि संघर्ष गर्नुपरिरहेको छ।

प्राप्त राजनीतिक उपलब्धीलाई सामाजिक-आर्थिक क्षेत्रमा जोड्नुपर्ने महत्वपूर्ण दायित्व पूरा गर्न विभिन्न व्यवधानहरू आइपरेका छन्। यो व्यवस्थाका लागि हिजोका दिनमा नेपाली कांग्रेसकै मार्गचित्रमा हिंडेका कतिपय राजनीतिक शक्तिहरू अहिले आफ्नो दोगला चरित्र दर्साइरहेका छन्। यस्तो अवस्थामा नेपाली कांग्रेससामु विद्यमान शासन व्यवस्थाको सबलीकरणमा अझ बढी उत्तरदायी हुनुपर्ने देखिएको छ।  

२००७ सालको जनक्रान्तिदेखि विभिन्न कालखण्डका राजनीतिक आन्दोलनले दिशानिर्देश गरेको पथमा मुलुकलाई नेपाली कांग्रेसले नै डोर्‍याउने छ भन्ने जनअपेक्षा पनि हो। यही जनअपेक्षालाई आत्मसात गर्दै नेपाली कांग्रेसले फेरि पनि नेतृत्वदायी भूमिका निर्वाह गर्नु छ। नेपाली कांग्रेसले जनक्रान्तिको मर्मअनुसार नै सधैं अघि बढ्नु छ। यसैको जगमा प्राप्त उपलब्धीहरू अझ सुदृढ बनाउँदै उचाइँमा पुर्‍याउनु छ। ७२औं प्रजातन्त्र दिवसको ऐतिहासिक अवसरमा हामी यही प्रण गरौं!

Back to top