परिवारमा एउटी छोरी भएको हेर्ने हजुर आमाको सपना म जन्मिएपछि पूरा भएको हो रे । घरमा एउटी छोरी भईदिए हुन्थ्यो भन्दा अरुले हजुरआमालाई मजाकको पात्र बनाउँथे भनेर हजुर आमा सुनाउनुहुन्थ्यो ।
मध्य तराई, त्यसमा पनि मधेशी समाज । जहाँ छोरी जन्मदा धेरै दाइजो दिनुपर्छ, छोरीले केही गर्न सक्दैनन् भन्ने मानसिकता हावी छ, त्यँही ठाउँमा छोरी चाहियो भन्दा हाँस्यास्पद हुनु पनि स्वभाविकै हो । तथापी मैले पहिलो पटक यो धर्तीमा पाइला टेकेपछि हजुरआमाको त्यो सपनाले सार्थकता पाएको थियो रे । म जन्मिदा परिवारमा सबैका आँखा खुशीका आँसुले भरिएको आमा भन्नुहुन्थ्यो ।
जन्मिने बित्तिकै सामान्य बच्चाको भन्दा कम तौल र अत्यधिक कमजोर थिएँ रे म । म कमजोर हुनु मेरो परिवारको लागि पिरोलोको विषय भएको थियो रे । मेरी आमा, दिज्यु र हजुरआमाको स्याहार सुसारले ‘बाँच्छ कि बाँच्दिन ?, यति कमजोर छ’ भन्नेहरुको मुख बन्द गरिदियो । मलाई खेलाउने हुर्काउने र संस्कार सिकाउनेमा मेरी आमा भन्दा पनि हजुर आमा र दिज्युको बढी देन छ । यद्यपी आमाले केही गर्नुभएन भन्न खोजेको भने हैन फेरी । आमाको गुनगान जति गाएपनि अपर्याप्त नै हुन्छ ।
मनमा आँट, साहस र हिम्मत लिएर मेहनत र ईमानदारिताका साथ अगाडी बढ्नुपर्छ भनेर हजुर आमा र दिज्युले सिकाएको पाठ मेरा लागि अहिले पनि उत्तिकै सान्दर्भिक एवम् उपयुक्त छन् । जिज्ञासु स्वभाव र नयाँ कुरा सिक्ने हुटहुटी म बाट कहिलै पनि हराएन । मध्यम वर्गीय परिवारमा जन्मिएकी भएर दुःख, संघष, समस्या र अभाव जस्ता शब्दहरुसँगै सानैदेखि परिचित हुने अवसर मिल्यो । र त अहिले जस्तो सुकै कठीन परिस्थिती आएपनि सहजै सामना गर्ने सामथ्र्य छ भन्नेमा म विश्वस्त छु । पहाडी समुदायका भएर मधेशी समाजमा बसोबास गर्दा अलिक फरक र असहज हुनु स्वभाविक थियो । यहाँको रहनसहन बुझ्ने बेला नहुँदै ६ वर्षको कलिलो उमेरमा अध्ययनको शिलशिलामा म काठमाण्डौ जानुपर्ने भयो । आमाको काख, बाबाको माया र दाई दिदीसँग झगडा गर्दै खेल्ने कुद्ने उमेरमा परिवारबाट टाढिएर होस्टेलमा बसी अध्ययन गर्नु मेरा लागि पक्कै सहज थिएन । देशकै राजधानीस्थित एक छात्राहरु मात्रै पढ्ने विद्यालयमा मैले कक्षा १ देखि १० सम्मको अध्ययन सकाए ।
पढ्दै जाँदा उमेर पनि परिपक्व हुँदै गयो । सकरात्मक सोच, हौसला, आत्मनिर्भरता, सशक्त, सहनशिलता, धैयर्ता जस्ता कुराहरु बुझ्दै गए । हरेक महिलामा केही न केही प्रतिभा हुन्छ तर कसैले प्रस्तुत गर्छन् त कसैले लुकाउँछन् भन्ने कुराको भान पनि मलाई त्यँही पढ्दा भयो । अरुलाई हराउँछु, म जित्छु भन्ने सोच कहिलै पलाएन । सँधै मैले आजको मसँग भोलीको मलाई प्रतिस्पर्धी बनाउँथे । अर्थात आफैले आफैसँग प्रतिस्पर्धा गर्थे, गरीरहेकी छु र गरीरहने छु । विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा पनि निराश बनाउने र मनोबल गिराउने भनाईहरुलाई वेवास्ता गर्दै सहभागी भएर आफुसँग भएको प्रतिभालाई प्रस्तुत गरीरहेँ ।
१२ वर्ष सम्म होस्टेलको जीवन बिताएर प्लस टु अध्ययन गर्न म आफ्नै जन्मभूमि वीरगञ्ज फर्किएँ । होस्टेलमा बस्दा बाहिरी दुनियाँसँग परिचित हुने अवसर मिलेन । एक्कासी होस्टेल छोडेर हावा पानी र रहनसहन नै फरक भएको वीरगञ्जमा आएपछि घुलमिल हुनु मेरा लागि चुनौतीको विषय बन्यो । १० कक्षाको नतिजा आउँदासम्मको ३ महिना समय मेरा लागि समाज र बाहिरी दुनिया बुझ्न प्रयाप्त होला भन्ने लाग्यो । यहाँको रहनसहनलाई बुझ्न र यहाँको वातावरणमा घुलमिल हुन अलिक असहज भयो । यद्यपी विकल्प पनि केही थिएन । काठमाण्डौमा बसेर पढेकी म वीरगञ्ज आउँदा केही समस्या त हुने नै थियो । लवाईखवाई, रहनसहन, हिँडाई बोलाई देखेर कुरा काट्नेहरुको कमी थिएन । छोरीहरु खुलेर बोलेको, हाँसेको र घुमेको दृश्य वीरगञ्जमा दुर्लभ भईसकेको थियो । घुम्टो प्रथालाई निरन्तरता दिएर खुलेर बोल्ने र हाँस्ने कुण्ठा पोख्ने ठाउँ कतै थिएन । अहिले पनि ग्रामिण क्षेत्रमा घुम्टो प्रथा जिवितै छ । पतन हुनुपर्ने पर्ने प्रथा जिवितै भएपनि मधेशी मूलका महिलाहरु भने बाँचेर पनि मरितुल्य छन् ।
ग्रामिण क्षेत्रका महिलाहरुलाई अहिले पनि बिहे भोज जस्ता कार्यक्रममा सरिक हुन बन्देज लगाइएको छ । यसैबाट पुष्टि हुन्छ नेपालमा महिलाको अवस्था के छ भनेर । हुन त देश नै पुरुषप्रधान देश महिला अपहेलित हुनु स्वभाविक हो । तथापी आधा धर्ती आधा आकाश ओगटेका महिलाहरुलाई अवसर प्रदान नगर्नु र महिलाहरुले पनि अवसर पाए केही गर्न सक्छन् भन्ने सम्म हेक्का नराख्ने मानसिकता हाम्रो समाजमा हावी छ । यस्तै गलत परम्परालाई विस्थापित गर्न र समाजमा न्याय एवम् समानता कायम गर्ने अभिप्रायले कक्षा १० को नतिजा प्रकाशन भएसँगै कानुन विषय अध्ययन गर्ने निधोमा म पुगे ।
वीरगञ्जको पानीट्याङ्कीस्थित डेसीमल कलेजमा कानुन संकायको पहिलो वर्षमा भर्ना भए । कलेजमा भएका झण्डै ५ सय भन्दा बढी विद्यार्थीमध्ये पहाडी मूलकी म एक्लै । कक्षामा केटाहरुले केटीहरुलाई गर्ने व्यावहार र बोल्ने शब्दहरुले लाग्थ्यो केटीहरु हेपिनका लागि र केटाहरु हेप्नका लागि बनेका हुन् । तर ति केटाहरुको त्यो व्यावहार भने धेरै बेर टिकेन । जे भनेपनि सहेर बस्ने अरु केटी जस्तै म थिइन् । फलस्वरुप मैले प्रतिकार गर्ने र केही भन्दा जवाफ फर्काउने भएपछि कक्षाभरकिा अरु केटीहरुले पनि उन्मुक्तीको आभाष गरेको साथीहरु सुनाउँथे । ‘छोरी भएर ठूलो स्वरमा बोल्नुहुँदैन, यस्तो कपडा लगाउनु हुँदैन, यहाँ जानु हुँदैन, केटासँग बोल्नु हुँदैन’ जस्ता कुराहरु विशेष गरी मधेशी समाजमा अहिले पनि यथावत छ । मेरो घर परिवारमा न कहिलै रोक नभएर होला म भने यसको विपरित छु । यी सबै कुराहरु म सुनेर पनि नजरअन्दाज गरिदिन्थे ।
घरेलु हिंसा,दुर्व्यवहार, बलात्कार, कुटपिट, जस्ता पिडाहरु सहेर घरमै चुलोचौखो, मेलापात र घाँस दाउरा गरेर सिमित हुनुपर्ने विवशता अहिले पनि धेरै नारीहरुलाई छ । देशको आधाभन्दा बढी जनसंख्या ओगटेका नारीहरु अँझै पनि दाइजो प्रथा, घुम्टो प्रथा, विद्युवा प्रथा, छाउपडी प्रथा जस्ता कुरितीहरुमा अल्झिएर आफ्नो सुनौलो भविष्य बनाउने सपनालाई मार्नु परीरहेको छ ।
तथापी महिला सशक्तीकरण र महिला सहभागिताका लागि नेपालमा विभिन्न प्रयासहरु नभएका भने हैनन् । तर ति प्रयासहरु केही हदसम्म सफल भए भने कतिपय ठाउँमा टाठा बाठाकै आफन्त एवम् शिक्षित महिलाहरुले नै त्यसको लाभ लिए । वास्तविक पिडितसम्म उनीहरुको अधिकार नपुगेको सर्वविदितै छ । महिला आरक्षणले विभिन्न निकायमा सहभागिता भएपनि अर्थपूर्ण सहभागिता भने अँझै हुन सकेको छैन । राष्ट्रपति महिला भएकै देशमा महिलाहरुको लागि ठोस कार्यक्रम र योजना नआएपछि अब आश कहिले गर्ने भन्ने प्रश्न पनि उब्जिएको छ ।
महिलालाई निर्धक्क भएर जीवनयापन गर्ने वातावरण बनाउने कार्यमा सरोकारवाला गम्भिरताका साथ लाग्नुपर्ने आवश्यक्ता देखिएको छ । नेपालको संविधान २०७२ र दोस्रो संशोधन २०७७ को धारा ३८ मा महिलाको हकभित्र गरिएका व्यवस्था नै कार्यन्वयवन हुन नसक्नु दुर्भाग्य हो । धारा ३८ को उपधारा १ मा प्रत्येक महिलालाई लैंगिक भेदभावबिना समान वंशीय हक हुने उल्लेख छ । उपधारा २ मा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरिएको छ भने उपधारा ३ मा महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारिरीक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसा जन्य कार्य वा शोषण गरिने छैन भनेर व्यवस्था गरिएको छ । यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुने र पिडितलाई क्षतिपुर्ती पाउने हक हुने पनि व्यवस्था रहेको छ ।
यस्तै उपधारा ४ मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुन पाउने हक सुनिश्चित गरिएको छ । तर यी हकहरुको बारेमा महिला स्वयम अनविज्ञ छन् । यसर्थ वर्षमा एक पटक मात्रै नारि दिवस मनाएर शिक्षित एवम् सशक्त भएका नारीहरुले नै भाषण गरेर वास्तविक पिडित एवम् अधिकारको पहुँचसम्म नपुगेका महिलाहरुको आवाज कसैले सुन्ला भनेर पत्याउने आधार छैन । जनताको अगाडी नारी सशक्तिकरणका भाषण गरेर ताली खाने र घरमा जाने बित्तिकै श्रीमति एवम् आमालाई हिंसा गर्नेहरुको पनि समाजमा कमी छैन । फलस्वरुप प्रथमतः सबैले मानसिकतामा परिवर्तन गर्नुपर्ने जरुरी देखिन्छ । महिलाको स्थानमा आफुलाई राखेर हेर्न सके भने पनि महिलाप्रतिको गलत दृष्टिकोण परिवर्तन नहोला भन्न सकिन्न ।
कसैले के भन्ला ? मेरो, घरको र परिवारको इज्जत सम्झेर मौन बस्ने अनि हिंसा सहेर बस्ने महिलाहरुले अब पनि प्रतिकार गरेर आवाज नउठाएसम्म पिडकहरुको मनोबल बढीरहन्छ । ‘रुने बच्चाले मात्रै दुध खान पाउँछ’ भने जस्तै आफ्नो अधिकारको लागि आफैले आवाज उठाउनुको विकल्प छैन ।
(श्रेष्ठ कानुनकी विद्यार्थी हुन् ।)