वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको बहुप्रतीक्षित मुख्य सडक विस्तार अभियान पुनः अन्योलमा परेको छ। त्रिभुवन राजपथ अन्तर्गत मितेरीपुलदेखि गण्डकचोकसम्मको सडकलाई दायाँ–बायाँ २५–२५ मिटर फराकिलो बनाउने योजनाअनुसार सडक डिभिजन कार्यालय, हेटौँडाले लामो समयदेखि प्रयास गर्दै आए पनि राजनीतिक, कानुनी तथा स्थानीय अवरोधका कारण अभियानले गति लिन सकेको छैन।
गत वैशाख ६ गते सडक डिभिजन कार्यालयले सूचना जारी गर्दै डोजर परिचालन गरी करिब १ हजार २०० घर तथा संरचना खाली गराउने प्रयास गरेको थियो। उक्त कदमपछि स्थानीय बासिन्दामा तनाव उत्पन्न भएको थियो भने केही संरचनामा आंशिक क्षतिसमेत पुगेको बताइएको थियो। त्यसबेला हाल निलम्बनमा रहेका वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले सडक डिभिजनको अभियानमा सहकार्य गरेका थिए।
तर त्यसयता राजनीतिक परिस्थिति परिवर्तन भएसँगै महानगरपालिकाको भूमिका पनि फेरिएको देखिएको छ। हाल महानगरबाट आवश्यक सहयोग नपाएको कारण सडक विस्तारको काम अगाडि बढ्न नसकेको सडक डिभिजन कार्यालयको भनाइ छ।
सडक डिभिजन कार्यालयले असार ७ गते पुनः सूचना प्रकाशित गर्दै भत्काइएका संरचना पूर्णरूपमा हटाउन आग्रह गरेको थियो। सूचनामा तोकिएको समयभित्र संरचना नहटाइएमा कार्यालय आफैंले हटाई त्यसबाट हुने खर्च तथा क्षतिपूर्ति सम्बन्धित पक्षबाट असुल गरिने चेतावनी दिइएको थियो।
अभियानलाई प्रभावकारी बनाउन महानगरपालिकासँग समन्वयको अपेक्षा गरिएको भए पनि यसपटक औपचारिक सहकार्य हुन नसक्दा काम रोकिएको बताइएको छ। यद्यपि सडक डिभिजन कार्यालयले आवश्यक यान्त्रिक उपकरणको अभावका कारण अभियान अस्थायी रूपमा स्थगित गरिएको जनाएको छ। कार्यालयका अनुसार आगामी दुई सातापछि पुनः अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ।
यसबीच संरचना हटाउने कार्य प्रारम्भ भएको करिब दुई महिना बितिसक्दा पनि बाँकी क्षेत्र खाली गराउने विषयमा ठोस प्रगति हुन सकेको छैन। पटक–पटक जारी हुने सूचना र अनिश्चित अवस्थाका कारण स्थानीयवासी त्रसित बनेको बताउँछन्। उनीहरूले स्पष्ट कार्ययोजना, पर्याप्त समन्वय र दीर्घकालीन समाधानबिना सञ्चालन गरिएको अभियानले समस्या झन् जटिल बनाएको गुनासो गरेका छन्।
वीरगञ्जको यातायात व्यवस्थापन, शहरी सौन्दर्य र दीर्घकालीन विकासका लागि सडक विस्तारलाई महत्वपूर्ण परियोजनाका रूपमा हेरिए पनि कार्यान्वयन प्रक्रियामा देखिएको समन्वय अभाव, कानुनी जटिलता तथा राजनीतिक अस्थिरताका कारण योजना अझै अन्योलमै रहेको देखिन्छ।