×

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी प्रथम महाधिवेशनका बीच सभापति पदमा उम्मेदवारी घोषणा गरेका एक प्रतिनिधिको नाम अन्तिम प्रतिनिधि सूचीबाट हटाइएपछि नयाँ विवाद उत्पन्न भएको छ। बारा क्षेत्र नम्बर–३ का सभापति भोला साह कानु (अभिषेक गुप्ता) ले आफूलाई बदनीयतपूर्वक महाधिवेशन प्रतिनिधिको अधिकारबाट वञ्चित गरिएको आरोप लगाएका छन्।

गुप्ताका अनुसार आइतबार राति सार्वजनिक गरिएको प्रारम्भिक प्रतिनिधि नामावलीमा उनको नाम समावेश थियो। तर त्यसपछि प्रकाशित अन्तिम नामावलीबाट उनको नाम हटाइएको छ। उनले गत शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत रास्वपा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए। सोही कारण आफ्नो नाम प्रतिनिधि सूचीबाट हटाइएको उनको दाबी छ।

‘लोकतन्त्रमा सबैलाई प्रतिस्पर्धा गर्ने अधिकार हुन्छ। मैले सभापतिमा उम्मेदवारी घोषणा गरेकै कारण प्रतिनिधि सूचीबाट हटाइनु लोकतान्त्रिक अभ्यासमाथिको प्रहार हो,’ गुप्ताले बताएका छन्।

उनले आफू बारा क्षेत्र नम्बर–३ का निर्वाचित सभापति भए पनि महाधिवेशन प्रतिनिधिको हैसियतबाट वञ्चित गरिएको भन्दै असन्तुष्टि जनाएका छन्। साथै, यस विषयमा पार्टी सभापति रवि लामिछानेसँग समेत छलफल गर्ने बताएका छन्। प्रदेश कमिटीसहित विभिन्न निकायसँग जवाफ माग्दा पनि कुनै प्रतिक्रिया नपाएको उनको भनाइ छ।

यता रास्वपाका मधेश प्रदेश सभापति मनिष साहले भने उम्मेदवारी घोषणाकै कारण मात्र गुप्ताको नाम हटाइएको नभएको बताएका छन्। उनका अनुसार गुप्ताले उम्मेदवारी घोषणा गर्दा अघि सारेको एजेन्डाका कारण अनुशासनात्मक कारबाहीस्वरूप यस्तो निर्णय भएको हुनसक्ने जानकारी आफूले सुनेको बताए।

‘यो विषय पार्टीको अनुशासन समिति र निर्वाचन आयोगको निर्णयको क्षेत्रभित्र पर्छ,’ साहले भने। उनले गुप्तामाथि थप कारबाही हुनसक्ने संकेत समेत गरेका छन्।

त्यसैगरी रास्वपाका सहमहामन्त्री तथा बारा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य गणेश धिमालले पनि गुप्ताको प्रतिनिधित्व खारेज हुनु निर्वाचन समितिको अधिकार क्षेत्रभित्रको विषय भएको बताएका छन्। गुप्ताको पृष्ठभूमि विवादित रहेको र तीन महिनाअघि नै उनीमाथि कारबाही सिफारिस भइसकेको दाबी उनले गरेका छन्।

गुप्ताले सभापति पदमा उम्मेदवारी घोषणा गर्दै ‘चन्दन स्वर्णकारको साधारण सदस्यता फुकुवा गराउनका लागि मेरो उम्मेदवारी केन्द्रीय सभापति पदमा रवि लामिछानेविरुद्ध’ भन्ने एकसूत्रीय एजेन्डा सार्वजनिक गरेका थिए।

उक्त एजेन्डालाई लिएर पार्टीभित्र असन्तुष्टि देखिएको बताइएको छ। स्मरणीय छ, गत जेठ ६ गते रास्वपाले बारा जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीको साधारण सदस्यतासमेत खारेज हुने गरी निष्कासन गरेको थियो। अनुशासन आयोगको सिफारिसका आधारमा संगठन विभागले कारबाही गरेको भए पनि पत्रमा स्पष्ट कारण उल्लेख गरिएको थिएन।

स्वर्णकारले भने आफूमाथि अन्याय भएको र निष्पक्ष छानबिनबिनै राजनीतिक रूपमा समाप्त पार्ने प्रयास गरिएको आरोप लगाउँदै आएका छन्। उनको निष्कासनपछि बारामा पार्टीभित्र विवाद चर्किएको थियो भने जिल्ला अधिवेशनका क्रममा दुई पक्षबीच झडपसमेत भएको थियो।

यही कारबाही फिर्ता गर्नुपर्ने मागलाई मुख्य एजेन्डा बनाएर गुप्ताले सभापति पदमा उम्मेदवारी घोषणा गरेका थिए। अहिले उनको प्रतिनिधित्व खारेज गरिएपछि रास्वपाको महाधिवेशनमा लोकतान्त्रिक अभ्यास, अनुशासन र आन्तरिक व्यवस्थापनबारे बहस सुरु भएको छ।

Back to top