×

वीरगञ्ज, २ चैत ।   ‘छोरी नर्स र छोरा कमर्स’ भन्ने भनाईले कुनै बेला चर्चा बटुलेको थियो । के पढ्छस् ? भनेर प्रश्न गर्दा छोरा मान्छेको जवाफ कमर्स र छोरीको नर्स प्रायः साझा जवाफ हुन्थ्यो । यो हाम्रो समाजको सङ्कुचित सोचको परिणाम हो भन्दा फरक नपर्ला । ‘महिलाहरु कमजोर हुन्छन्, पुरुषले गर्ने काम महिलाहरुले सक्दैनन्, महिला र पुरुषले गर्ने कामहरु पनि फरक हुन्छन्’ भन्ने मानसिकता विस्तारै गलत साबित हुँदैछन् । हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाउन राज्य पनि प्रयासरत छ । 

परिवारको साथ, सपना पूरा 

धनुषाको जनकपुरधान उपमहानगरपालिका वडा नम्बर ३ निवासी नेहा कर्णलाई नामको अगाडी ईन्जिनियर लेखाउने सानैदेखिको सपना थियो । उनीसँगै पढेका साथीहरुले स्टाफ नर्स, अनमी, कमर्स लगायतका क्षेत्र रोजेको बेला नेहाले भने ईन्जिनियरींग पढ्ने अठोट गरीन् । समाजले ईन्जिनियर पढ्ने केटीलाई गलत दृष्टिकोणले हेरेपनि नेहाका परिवारले भने उनलाई पूर्ण रुपमा समर्थन गरे । त्यही साथ र समर्थनकै परिणामस्वरुप आज उनी नेहा मात्रै नभएर ईन्जिनियर नेहा बन्न सफल भएकी छिन् । 

काठमाण्डौ ईन्जिनियरींग कलेजबाट उनले २०७१ सालमै इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसनमा ईन्जिनियरींग गरीन् । एड्भान्स कलेज अफ ईन्जिनियरींग एण्ड म्यानेजमेन्ट, जनकपुर ईन्जिनिरींग कलेज, सगरमाथा ईन्जिनियरींग कलेज लगायतका थुप्रै कलेजहरुमा अध्यापन गरेको अनुभवसमेत बटुलीसकेकी नेहा हाल नेपाल विद्युत प्राधिकरणको योजना तथा प्राविधिक विभागमा कार्यरत छिन् । 

घर परिवारको साथ नभए आफ्नो ईन्जिनियर बन्ने सपना अधुरै रहने नेहाको भनाई छ । उनी थप्छिन्, ‘मेहनत र लगनका साथ सपनाको पछाडी लाग्ने हो भने र परिवारले साथ दिने हो भने जस्तो सुकै सपनाले पनि सार्थकता पाउने रहेछ ।’ 

केटी पनि ईन्जिनिर ?

‘केटी पनि ईन्जिनिर हुन्छन् र ?’ भन्ने प्रश्न ईन्जिनियर रीता कुमारी यादवले धेरै पटक सामना गरेको प्रश्न हो । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ३ निवासी यादव २१ औँ शताब्दीको झण्डै अन्त्यतिर आउँदासमेत लैङ्गिक आधारमा विभेद गर्ने परिपाटीको अन्त्य नहुनुमा चिन्तित छिन् । ‘काम पनि महिला र पुरुषले गर्ने भनेर फरक–फरक हुन्छ र ?’, उनी प्रतिप्रश्न गर्छीन् । पुरुष प्रधान देश महिलालाई असक्षम र अदक्ष सोच्ने प्रवृति पुरानै हो । यद्यपी नयाँ पुस्ता र पढेलेखेका बौद्धिक जमातबाटै यस्तो तुच्छ विचार सुन्दा भने उनलाई दया लाग्छ । केटी पनि केटाभन्दा फरक हुँदैनन्, केटाले गर्ने काम केटीले पनि गर्न सक्छिन् भनेर प्रमाणित गर्न उनले सिभिल पढ्ने योजना बनाएपनि उनले कम्प्युटर साइन्समा ईन्जिनिरींग गरीन् ।  

भारतको हैदराबादस्थित जेनटु युनिभर्सिटीबाट ब्याचलर गरेकी उनले धनुषाको लक्ष्मीनिया स्थित सिटिईभिटको डिप्लोमा पढाई हुने कलेजमा अध्यापन गराईसकेकि छिन् । मेलम्ची खानेपानी वाटर सप्लाई प्रोजेक्टमा पनि काम गरेकी रीता हाल इच्छापुर मा.वि महेन्द्रनगर धनुषामा कार्यरत छिन् । 

पहुँचका लागि आरक्षण

सन् १९७० को दशकतिर ईन्जिनियरलाई समाजको मसलपावर देखाउने पेसाका रुपमा लिने गरेको नेपाल ईन्जिनिरींग काउन्सिलका पूर्व अध्यक्ष ईन्जिनियर सत्यनारायण साह बताउँछन् । यही कारण कुनै समय ईन्जिनिरींगमा पुरुषहरुको मात्रै दबदबा थियो । सन् १९८० को दशमा एकदुई जना महिलाले आर्किटेक्ट ईन्जिनिरींग अध्ययन गरेसँगै ईन्जिनियरींगतर्फ महिलाको आकर्षण बढेको देखिन्छ । आर्किटेक्ट ईन्जिनियरींगमा महिलाको बर्चस्व भएपनि अन्य विधामा भने अँझै पनि पहुँच पुग्न नसकेको त्रिजुद्ध माविका सिभिल विभागीय प्रमुख ईन्जिनियर राजेश यादव बताउँछन् । 

इन्जिनियरींगमा महिलाको पहुँच बढाउन १० प्रतिशत महिला आरक्षण कोटाको व्यवस्था गरिएको पुल्चोक इन्जिनियरिङ कलेजका मेकानिकल विभागका पूर्वप्रमुख डा. प्रमोद श्रेष्ठले बताए । आर्किटेक्ट, कम्प्युटर, एरोनोटिकल, एग्रिकल्चर, आइटी, मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स लगायतका विधामा महिलाको सहभागिता केही हदसम्म सन्तोषजनक भएपनि सिभिल, मेकानिकल, इलेक्ट्रिकललगायतका विषयमा न्युन उपस्थिती छ । 

मेसिनरी विषय भएकाले इन्जिनियरिङ विषयमा महिलाहरुको न्यून उपस्थिति भएको ई. श्रेष्ठको बुझाई छ । सामाजिक र परम्परागत सोचको प्रभावस्वरुप ईन्जिनिरींगमा महिलाको प्रतिनिधित्व कम हुने गरेको बिआईटी ईन्जिनिरींग कलेजका प्रबन्ध निर्देशक ई. रामबाबु प्रसादले बताए । 
 

Back to top