×

वीरगञ्ज २० जेठ ।  पर्साको पटेर्वासुगौली गाउँपालिकामा अनिवार्य अवकाश प्राप्त प्रधानाध्यापकहरुको विदाई गरिएको छ । वडा नम्बर २ रंगपुरस्थित भुमरीमाई मन्दिरको प्राङ्गनमा गाउँपालिका प्रधानाध्यापक समूह समितिको आयोजनामा अनिवार्य अवकाश प्राप्त प्रधानाध्यापकको विदाई एवम् शैक्षिक सुधार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । 

पालिका स्तरीय प्रधानाध्यापकहरुका संयोजक मोहन दास थारुको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापकहरु एवम् सम्पुर्ण शैक्षिक बुद्धिजिवी वर्गसँग सहकार्य र हातेमालो गर्नुपर्नेमा जोड दिएका छन् । शिक्षालाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाले काम गर्ने बताउँदै अध्यक्ष चौधरीले शिक्षाको सवालमा कसैसँग सम्झौता नगर्ने बताएका छन् । 

यस्तै गाउँपालिका उपाध्यक्ष ममता महतोले विद्यालयमाा आउने विभिन्न समस्या एवम् कमीकमजोरीलाई केलाएर शैक्षिक स्तरलाई सुधार गर्नुपर्ने बताएकी छिन् । प्रधानाध्यापक जिम्मेवार भएर आफ्नो कर्तव्य पूरा गरेमा विद्यालय सुधार हुन धेरै समय नलाग्ने र अभिभावकको विश्वास जित्न सक्ने उपाध्यक्ष महतोको भनाई छ । 

कार्यक्रमममा वडा अध्यक्ष विजय गैरे, शिक्षक महासंघ पर्सा जिल्ला अध्यक्ष तिर्थराज यादव, शिक्षक संघ पटेर्वासुगौलीका अध्यक्ष हरिराज यादव, गाउँपालिकाका शिक्षा शाखा प्रमुख शम्भु प्रसाद साह, पटेर्वा सुगौली गाउँ पालिकाका २४ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।  
 

Back to top