×

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साभित्र आन्तरिक विवाद चुलिँदै गएको भन्दै केही नेता तथा कार्यकर्ताहरूले पार्टीका दुई सांसदमाथि सङ्गठन विभाजन गर्न खोजेको आरोप लगाएका छन् ।

पार्टीभित्र असन्तुष्टि जनाउने कार्यकर्ताहरूका अनुसार पर्सा क्षेत्र नम्बर ४ का सांसद टेकबहादुर शाक्य र पर्सा क्षेत्र नम्बर ३ का सांसद रामाकान्त चौरसियाले समूहगत राजनीति गर्दै पार्टीभित्र गुटबन्दी बढाएको आरोप लगाइएको छ ।

कार्यकर्ताहरूको भनाइअनुसार निर्वाचनपछि पर्साका चार वटै निर्वाचन क्षेत्रका नेता तथा कार्यकर्ताहरूबिच तुलनात्मक रूपमा एकता कायम रहे पनि पछिल्लो समय केही नेताहरूको सक्रियताले सङ्गठनभित्र विभाजनको अवस्था सिर्जना भएको छ । उनीहरूले सांसद शाक्य र चौरसियाले छुट्टाछुट्टै समूह बनाएर पार्टी सङ्गठनलाई कमजोर बनाउने गतिविधि गरिरहेको आरोप लगाएका छन् ।

यसैबिच, पर्सामा जारी जिल्ला अधिवेशनका क्रममा देखिएको विवाद र तनावलाई पनि कार्यकर्ताहरूले यही आन्तरिक गुटबन्दीसँग जोडेर हेरेका छन् । अधिवेशन स्थलमा भएको भनिएको विवाद र झडपले पार्टीभित्रको मतभेद सतहमा आएको उनीहरूको दाबी छ ।

असन्तुष्ट पक्षले पार्टीको केन्द्रीय नेतृत्वले समयमै हस्तक्षेप गरी सङ्गठनभित्र देखिएको विवाद समाधान गर्नुपर्ने माग गरेको छ । अन्यथा पर्सामा पार्टी सङ्गठन थप कमजोर हुने र विभाजनको अवस्था सिर्जना हुन सक्ने उनीहरूको चेतावनी छ ।

यद्यपि, सांसद टेकबहादुर शाक्य र रामाकान्त चौरसियाको तर्फबाट उक्त आरोपबारे कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।

Back to top