वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको वीरगञ्ज महानगर समितिले आफ्नो मातहतमा रहेका सम्पूर्ण विभाग तथा उपसमितिहरू विघटन गरेको छ।
महानगर समितिको अधिवेशन सम्पन्न भइसकेको सन्दर्भमा पार्टीको विधान र सङ्गठनात्मक व्यवस्थाअनुसार नयाँ नेतृत्व तथा संरचना चयन नहुँदा सम्मका लागि पुराना सबै विभागीय संरचना खारेज गरिएको हो।
वीरगञ्ज महानगर कार्यसमितिका सभापति दिपराज पटेलद्वारा जारी गरिएको पत्रअनुसार महानगरअन्तर्गत हाल सञ्चालनमा रहेका सबै विभाग, उपसमिति तथा तिनका पदाधिकारीहरूको कार्यकाल समाप्त भएको घोषणा गरिएको छ।
समितिका अनुसार अधिवेशनपछिको पुनर्गठन प्रक्रिया पूरा गरी नयाँ विभागीय संरचना गठन नभएसम्मका लागि यसअघि रहेका सम्पूर्ण विभागीय जिम्मेवारी, अधिकार तथा गतिविधिहरू स्वतः निष्क्रिय रहनेछन्।
महानगर समितिले यो निर्णयबारे रास्वपाको केन्द्रीय कार्यसमिति, केन्द्रीय सङ्गठन विभाग तथा प्रदेश सङ्गठन विभागलाई समेत जानकारी गराइसकेको जनाएको छ।
अब नयाँ कार्यसमिति गठनपछि महानगरभित्रका सबै विभाग तथा उपसमितिहरू पुनः संरचित हुने र पार्टी गतिविधि नयाँ ढङ्गले अघि बढाइने अपेक्षा गरिएको छ।