×

वीरगञ्ज । नेपाल र भारतबिच व्यक्तिगत तवरमा व्यक्ति–देखि–व्यक्ति रकम ट्रान्सफर गर्न सहज हुने भएको छ । परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा दुई देशबिच भएको तीन बुँदे सहमतिअन्तर्गत सीमापार डिजिटल भुक्तानी प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने निर्णय गरिएको हो ।

शनिवार नयाँ दिल्लीमा आयोजित उच्चस्तरीय द्विपक्षीय वार्तामा परराष्ट्र मन्त्री खनाल र भारतीय विदेश मन्त्री डा. एस. जयशङ्करबीच उक्त सहमति भएको हो । यसअघि जुन २०२३ मा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) बिच सीमापार डिजिटल भुक्तानीसम्बन्धी सम्झौता भएको थियो ।

सम्झौताअनुसार भारतीय पर्यटकले नेपालमा डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था कार्यान्वयनमा आइसकेको छ । तर नेपाली नागरिकले भारतमा डिजिटल भुक्तानी गर्न नपाइरहेको अवस्थालाई अब समाधान गरिने भएको छ ।

नयाँ सहमतिसँगै भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) र नेपालको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) बिचको आबद्धता सुदृढ गरिने छ । यसले दुई देशका नागरिकलाई सुरक्षित, सहज र छरितो रूपमा डिजिटल भुक्तानी तथा व्यक्तिगत रेमिटेन्स पठाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

यसैबिच, नेपालको आफ्नै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्लेटफर्म विकासका लागि भारतले प्राविधिक सहयोग गर्ने सहमति पनि भएको छ । नेपालको डिजिटल पूर्वाधार सुदृढ गर्न काठमाडौँ विश्वविद्यालय र भारतको डिजिटल इन्डिया भाषिणी विभागबिच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । उक्त सहकार्यअन्तर्गत ‘भ्वाइस फस्ट’ भाषा अनुवाद प्लेटफर्म विकास र राष्ट्रिय डिजिटल पूर्वाधार सुदृढीकरण गरिने जनाइएको छ ।

यस पहलले नेपालमा एआई प्रविधिको प्रयोग विस्तार हुनुका साथै स्थानीय भाषाहरूको डिजिटल पहुँच अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

भेटका क्रममा भारतीय विदेश मन्त्री डा. जयशङ्करले नेपाल–भारत सम्बन्धलाई विशेष र अद्वितीय बताउँदै विश्वास र आपसी लाभमा आधारित रहेको उल्लेख गरे । उनले स्टार्टअप, एआई, सूचना प्रविधि तथा नवीकरणीय ऊर्जा जस्ता नयाँ क्षेत्रमा सहकार्य विस्तार गर्न भारत इच्छुक रहेको बताए । साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘छिमेकी पहिलो’ नीति अनुरूप नेपालको समृद्धि र प्रगतिमा भारत प्रतिबद्ध रहेको धारणा व्यक्त गरे ।

दुई मन्त्रीबिच व्यापार, कनेक्टिभिटी, ऊर्जा साझेदारी (विशेषगरी जलविद्युत), शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा खेलकुदलगायत विविध क्षेत्रमा समेत विस्तृत छलफल भएको थियो । दुवै पक्षले खुला सीमाको सुरक्षा कायम राख्दै आपसी हित प्रवर्द्धनमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

परराष्ट्र मन्त्री खनाल आफ्नो भारत भ्रमण सम्पन्न गरी आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

Back to top