×

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०८२/०८३ मा गरेको वार्षिक कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेशका जिल्लामध्ये सर्वोत्कृष्ट उपलब्धि हासिल गरेको छ। उत्कृष्ट कार्यसम्पादन गरेबापत कार्यालय प्रमुख सुदीप राज पाठक लाई प्रशंसापत्रसहित सम्मान गरिएको छ।

प्रहरी कार्यालयले सार्वजनिक गरेको एक वर्षे विवरणअनुसार लागूऔषध नियन्त्रण, भन्सार चोरी पैठारी, मानव बेचबिखन नियन्त्रण, ज्यानसम्बन्धी कसूर तथा राजस्व अनुसन्धानका क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त भएको छ।

फैसला कार्यान्वयनमा ठूलो उपलब्धि

फैसला कार्यान्वयन अन्तर्गत ७७५ जनाबाट १५२ वर्ष ८ महिना २१ दिन कैद असुल गरिएको छ भने रु. ७ करोड ६६ लाख ९६ हजार ७६० जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।

लागूऔषध नियन्त्रणमा व्यापक कारबाही

लागूऔषध नियन्त्रणतर्फ ४३ वटा मुद्दा दर्ता गरी ५९ जना प्रतिवादी पक्राउ परेका छन्। ठूलो परिमाणमा लागूऔषध बरामद गरिएको छ, जसमा—गाँजा : ७९९ किलो ८४० ग्राम, चरेश : २६९ किलो ४०० ग्राम, ब्राउन सुगर : ४१ ग्राम ६८९ मिलिग्राम, फेनारगन, डाइजेपाम, व्युनोर्फिन : ३५०–३५० एम्पुल, ट्रामाडोल क्याप्सुल : १,३६,७१० क्याप्सुल, नाइट्राजेपाम : २३० ट्याब्लेट त्यसैगरी, हुण्डी कारोबारमा संलग्न १३ जनालाई पक्राउ गरी ९ मुद्दा दर्ता गरिएको छ भने रु. ६२ लाख ६१ हजार ४७० बराबरको रकम बरामद गरिएको छ।

मानव बेचबिखनमा उद्धार अभियान

मानव बेचबिखनसम्बन्धी ३ मुद्दा दर्ता भई ५ जना पक्राउ परेका छन्। साथै ३९ जना महिला तथा बालबालिकाको उद्धार गरी सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।

अवैध खेती र मदिरा नष्ट

प्रहरीले ७ बिघा १५ कठ्ठामा लगाइएको ४ लाख ३२ हजार ६०० गाँजाका बोट नष्ट गरेको छ। साथै १९ वटा अवैध भट्टी नष्ट गरी १२,८८५ लिटर तयारी मदिरा र २९,९४० लिटर कच्चा पदार्थ बरामद गरिएको छ।

भन्सार चोरी पैठारीमा ठूलो बरामद

भन्सार तथा राजस्व चोरी पैठारीतर्फ ४ जनालाई पक्राउ गरी ४९ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ। यसतर्फ रु. ४३ करोड ९८ लाख ६७ हजार ४५० बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ। विशेष घटनामा मात्र रु. ४ करोड ७७ लाख बराबरको सुपारी बरामद गरिएको छ भने विभिन्न स्थानमा लागूऔषधसहित अन्य कारबाहीसमेत गरिएको छ।

ज्यानसम्बन्धी तथा गम्भीर अपराध नियन्त्रण

ज्यानसम्बन्धी कसूरमा संलग्न ७ जनालाई भारतको मोतिहारीबाट पक्राउ गरी नेपाल ल्याई अनुसन्धान भइरहेको छ। त्यसैगरी, घरेलु हिंसासम्बन्धी गम्भीर घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। समग्रमा पर्सा प्रहरीको एक वर्षे कार्यसम्पादन लागूऔषध नियन्त्रण, सीमा अपराध नियन्त्रण र राजस्व सुरक्षामा प्रभावकारी देखिएको छ।

Back to top