वीरगञ्ज १६ असोज । वीरगञ्जमा बाजागाजासहित धुमधामकासाथ फूलपाती भित्र्याइएको छ ।
मालपोतबाट निकालिएको फूलपाती वीरगञ्ज बजार परिक्रमा पश्चात माइस्थान मन्दिरमा लगेर भित्र्याइएको हो ।
फूलपाती निकाल्नु अघि नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो ।
हरेक वर्ष मालपोतमाबाट निकालिएको फूलपाती माइस्थान मन्दिरमा लगेर भित्र्याइने परम्परा छ ।
फूलपाती भित्र्याउन पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत लगायत सुरक्षाकर्मी, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज आइतबार शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजाकोठामा राखिएको उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष आइतबार भित्र्याइने गरिन्छ ।
फूलपाती भित्र्याएपछि माइस्थान मन्दिरमा नौदेवीको विधिपूर्वक पूजाराधना गरिएको छ ।
