किताबलाई दराजमा राख्नुका पछाडि कैयौँ फाइदाहरू हुन्छन् । पहिलो त यसमा किताबलाई व्यवस्थित तरिकाले राख्न सकिन्छ र किताब भेटाउन पनि सजिलो हुन्छ ।
दोस्रो, दराजले किताबमा धुलो पस्न वा फोहोर हुनबाट पनि जोगाउँछ । किताबको दराजलाई घरको कुनै पनि कोठामा राख्न सकिन्छ । किताबको दराजको प्रयोग प्रायः अफिस तथा लाइब्रेरीलाई पनि प्रयोग गर्न सकिन्छ ।
यसरी राखेका किताबमा पनि बेला बेलामा फोहोर जम्ने, किरा तथा साङ्लाहरू आउने समस्या देखिन्छ । त्यसैले यसलाई विभिन्न उपायहरू अपनाएर सफा राख्न सकिन्छ ।
जसका लागि यहाँ केही टिप्सहरू पनि दिइएको छ । जसलाई अपनाएर तपाईँ पनि आफ्नो किताबको दराज आजैदेखि सफा राख्न सक्नुहुन्छ ।
दराजबाट सबै किताबहरू निकाल्नुहोस् । यसले तपाईँलाई पूर्ण रूपमा सरसफाइ गर्न सजिलो हुनेछ ।
आफ्ना किताबहरूमा लागेको धुलोलाई राम्रोसँग पुछ्नुहोस् । यसका लागि सुख्खा कपडा वा एउटा सुतीको कपडाको प्रयोग गर्न सक्नुहुन्छ ।
सफा गरिसकेपछि किताबलाई फेरि दराजमा राख्नुहोस् । किताबलाई त्यसको आकार तथा विषयको आधारमा क्रमबद्ध मिलाएर राख्न सकिन्छ ।
आफ्नो किताब राख्ने दराजमा केही सजावटको सामग्री पनि राख्न सकिन्छ । जस्तै इनडोर बिरुवा, आर्टिफिशियल फूल तथा मूर्तिहरू राख्न सकिन्छ । तपाईँले यसरी किताबको दराजलाई आकर्षक लुक्स दिन सक्नुहुन्छ ।
यदि तपाईँको किताबको दराजमा सिसा लागेको छ भने सिसा पुछ्ने सफा गर्न सक्नुहुन्छ । त्यस्तै भ्याकुम क्लिनरको प्रयोगले पनि दराजलाई सफा गर्न सकिन्छ । जसले गर्दा कुनामा अड्कीएको फोहोर पनि बाहिर आउँछ ।