इस्तखार अंसारी। पछौटे डढुवा रोग गोलभेंडा, आलु आदी बालीमा लाग्ने गर्दछ । फाइटोप्थोरा इन्फेस्टेन्स नामक परजीवका कारण यो रोग लाग्ने गर्दछ । युरोपतिर यही रोग आलुमा संक्रमण भएपछि सन् १८४५–१८५१ सम्म त्यहाँ भोकमरीको सामना गर्नुपरेको थियो ।
आलु नै प्रमुख खाद्य वस्तु भएको ठाउँमा उक्त रोग लागेपछि झण्डै २ मिलिएन मानिसले भोकमरीकै कारण ज्यान गुमाउनु परेको थियो भने खाद्य अभावमा धेरै जना शारिरीक रुपमा अशक्त र रोगी भए । यही रोगकै कारण खाना नपाएपछि दक्षिण अमेरिका तिर बसाईसराई गर्नेहरुको संख्या पनि बढ्दै गएको थियो ।
रोगको पहिचान
सुरु–सुरुमा तल्लो पातका किनारमा भिजेको जस्तो दाग देखा पर्छन् । जुन हल्का हरियो रंगको हुन्छ र केही दिन भित्रै यि दागहरु खैरो वा हल्का कालो रंगमा बद्लिएर जान्छन् । बिहान पख वा बादल लागेको अवस्थामा पातको तल्लो सतहमा कपासका त्यान्द्रा जस्ता मसिना भुवादार ढुसीहरु आँखाले सजिलै देख्न सकिन्छ । मौसम अनुकुल हँुदै गएमा ढुसीको व्यापक बृद्धि हुदै जान्छ, जस्ले गर्दा डाँठहरुमा र फलमा आक्रमण गरी खैरो वा कालो दागहरु बढ्दै जान्छन् । अन्त्यमा छिटै पुरै बोटहरुलाई डढाएर मारि दिन्छ । यस्ता रोग लागेको दानालाई बिचमा काटेर हेर्दा भित्रको गुदी खैरो देखिन्छ । पात र डाँठमा विकास भएका ढुसीहरु माटोमा झर्छ र गोलभेंडाको बोटलाई आक्रमण गर्छ ।
रोगको स्रोत र फैलिने वातावरण
माटो, बीउ र हावामा रहेको ढुसीहरु नै रोगका मुख्य स्रोतहरु हुन् । खेतीवारीका छेउछाउमा फ्याकेका गोलभेंडाका बोटहरु, झारपात, रोगग्रस्त बिउहरु यस रोगका स्रोतहरु हुन् । राती धेरै सित पर्ने, दिउँसो बादल लाग्ने, सिमसिम वर्षा भई वातावरणको तापक्रम २०–३० डिग्री सेल्सीएस र आद्रता ८५–९५ प्रतिशत रहेको अवस्थामा यो रोग तिब्र रुपमा फैलिदै जान्छ र करिब एक सातापछि गोलभेंडाको पुरै खेत डढेलो लागेको जस्तो देखिन्छ ।
रोगको व्यवस्थापन
–स्वस्थ्य बीउ रोप्ने
– डडुवा अवरोधक जातहरु लगाउने
–रोग लागेको पात, डाँठ, फल र विरुवा अवशेष हटाउने वा जलाउने
–विरुवा रोप्ने समय, स्थान र मौसम अनुसार रोग अनुकुल वातावरण छल्न केही छिटो वा ढिलो गरी मिलाउने
–सन्तुलित मलखादको प्रयोग गर्ने
–वाली चक्र अपनाउने (आलु, भाण्टा, खुर्सानी वाहेक)
–ट्राईकोडर्मा जैविक विषादी प्रयोग गर्ने
–रोग सुरु हुने वेला देखि कपर भएको ढुसी नाशक विषादी जस्तै थाईडियाजोल कपर, कपर अक्सिक्लोराइड, कपर हाइड्रोअक्साइड २ ग्राम प्रति लिटर पानीमा मिसाई ७–१० दिनको फरकमा ३–४ पटक बोट राम्ररी भिज्ने गरी छकर्ने अथवा
–क्लोरोथालोनिल ७५ प्रतिशत डब्लु.पि. (प्रोटेक्टर जेड.एन., डिफेन्स, प्लान्ट गर्डा) अथवा प्रोपोनीव ७० प्रतिशत डब्लु.पि. २ ग्राम प्रति लिटर पानीमा मिसाई छकर्ने
–म्यानकोजेव ६४ प्रतिशत साईमोक्जानिल ८ प्रतिशत डब्लु.पि. (किङ्गमिल ७२ प्रतिशत, सीमोनील) वा मेटाल्याक्जेल म्यानकोजेव ६४ प्रतिशत (किङ्गमिल एम.जेड, अनुमील) २ ग्राम प्रति लिटर पानीमा मिसाएर छकर्ने
–डाईमेथोमर्फ ५० प्रतिशत डब्लु.पि. (किङ्गस्टिभल, एन–व्याट, रीयल व्याट) वा फेनामाइडन १० प्रतिशत म्यानकोजेव ५० प्रतिशत डब्लु.पि (सेक्टीन, के–टीन) २ ग्राम प्रति लिटर पानीमा मिसाएर छकर्ने ।
(लेखक इस्तखार अंसारी वीरगञ्ज स्थाई घर भई हाल उनी टिकापुर कैलालीको सुदुरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकायमा अध्ययनरत छन् ।)