×

इस्तखार अंसारी।  आलुमा लाग्ने पछौटे डडुवा रोग फाईटोफ्थोरा इन्फेसटान्स नामक ढुसीले गर्दा लाग्दछ । आलुबालीमा यो रोग विश्वमा नै प्रमुख समस्याको रूपमा रहेको छ भने नेपालमा पनि आलु खेती गरिने अधिराज्यका सबै क्षेत्रमा प्रमुख समस्याको रूपमा रहँदै आएको छ ।

पहाडी क्षेत्रमा वर्षेनी ठूलो प्रकोपको रुपमा यो रोग देखा पर्दछ भने तराई क्षेत्रमा केही बर्ष बिराएर संक्रामक रूपमा देखा पर्दछ । यस रोगको अवस्था हेरी आलुको उत्पादनमा ५० प्रतिशत वा सो भन्दा बढि ह्रास पुर्याएको देखिन्छ । यस रोगको प्रकोप र परिमाण मौसमको अवस्था, खेती गरिने आलुको जात तथा आलुको उमेरमा निर्भर हुनाले प्रत्येक वर्ष नोक्सानीको परिमाण पनि फरक हुन सक्दछ ।

रोगको लक्षणहरूः–
– पातको किनारमा हल्का खैरो तथा गाढा हरियो दाग देखा पर्दछ र पछि गएर डाँठमा पनि आक्रमण गर्दछ ।
– आर्द्र मौसममा पातको तल्लो भागमा कपास जस्तो ढूसी देखा पर्दछ ।
– जीवाणुको प्रकोप आलुका दानामा भएमा दानाको बाहिरी सतहमा केही
दबेका खैरा तथा बैजनी रङ्गका दागहरु देखा पर्दछन् ।
– पछि गएर दानाको सतह खुम्चने तथा गुदिमा गाढा खैरो रङ्गको दाग देखा
पर्दछ ।

रोगको लागी अनुकूल वातावरणः–
– तापक्रम : १०–२० डिग्री सेल्सियस 
– आर्द्रता : ८०–९० प्रतिशत ।
– दिउँसो बादल वा कुहिरो लाग्नु ।
– छिन छिनमा पानी पर्नु ।
– रातमा अत्यधिक मात्रामा शित पर्नु ।
– हल्का हावा चल्नु आदि ।

रोग फैलने प्रमुख माध्यमहरूः–
– रोगग्रस्त बीउ आलुबाट ।
– गोलभेंडा तथा सोलानेसी परिवार (आलु परिवार) अन्तर्गत पर्ने झारहरुबाट ।
– खेतवारीको छेउछाउमा उम्रेका रोगग्रस्त आलुका बोटहरुबाट ।

रोकथामका उपायहरूः–
– रोग सहन सक्ने वा कम रोग लाग्ने आलुका जातहरु जस्तैः–  खुमल सेतो–१, खुमल रातो–२, खुमल विकास, कुफ्रि बादशाह, एन. पि.आइ. १०६, सि.एफ. एम, पेरीकोली, सि.एफ. जे. आदि को खेती गर्ने ।
– स्वस्थ बीउ आलुको प्रयोग गर्ने ।
– उपयुक्त समय भित्र रोपाइ सम्पन्न गरी सक्ने ।
– सिफारिस गरिएको तरिकाले (धेरै बाक्लो गरी नलगाउने, लाइनमा लगाउने,
सिफारिस मलको मात्रा प्रयोग गर्ने र उपयुक्त मात्रामा सिंचाई गर्ने) खेती
गर्ने ।
– आलुको बोटमा रोगको शंका हुनासाथ रक्षात्मक रोग नाशक बिषादी इण्डोफिल
एम–४५ को धूलो २.५ ग्राम प्रति लिटर पानीमा मिसाई ७–१० दिनको फरकमा
पुरै पात भिज्ने गरी छर्ने ।
– रोग देखिन थालेपछि उपचारात्मक रोग नाशक विषादी क्रिल्याक्सील अथवा
क्रिनोक्सील, रीडोमीलको धूलो १.५ ग्राम प्रति लिटर पानीमा मिसाइ १५–२०
दिनको फरकमा छर्ने ।
– आलु खन्ने समयमा रोग लागेका आलुका दाना तथा बोटहरु संकलन गरी
उचित व्यवस्थापन गर्ने ।

सन्दर्भ सामाग्रीहरुः–
१. खैरगोली, लक्ष्मी प्रसाद, २०३७, आलुवाली, श्रीमती सरिता खैरगोली, बानेश्वर, काठमाण्डौँ, नेपाल ।

२. नेउपाने, फणीन्द्र प्रसाद, २०३३ वाली विरुवाका शत्रुहरु र तिनको रोकथाम, साझा प्रकाशन, काठमाण्डौं, नेपाल ।

३. जोशी, समुन्द्र लाल, २०५१, नेपालमा तरकारी बालीका मुख्य हानिकारक कीराहरु, कृषि विकास विभाग, तरकारी विकास महाशाखा, खुमलटार, ललितपुर, नेपाल ।

(लेखक इस्तखार अंसारी वीरगञ्ज स्थाई घर भई हाल उनी टिकापुर कैलालीको सुदुरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकायमा अध्ययनरत छन् ।) 

Back to top