×

वीरगञ्ज ।  हेमा थापा वीरगञ्जवासीका लागि परिचित नाम हो । पछिल्लो समय यो नाम यहाँका बासिन्दाका लागि मात्रै नभएर देशैभर परिचित बन्दै गएको छ । उनका बुबा पनि सरकारी सेवामै थिए । उनी जता जता सरुवा हुँदै गए, हेमाको पढाई पनि उतै उतै भयो । छोटो समयका लागि बनेका साथी छोटो समयमै छुट्टिँदै गए । त्यसैले पनि उनका बाल्यकालका साथी धेरै भएनन् । घुम्दै जाँदा एउटा ठाउँको साथी छुट्ने र अर्को ठाउँको नयाँ साथी बन्ने ।

पढाइमा उनका दाइ र दिदी अब्बल थिए भने, उनी सामान्य विद्यार्थी मात्र थिइन् । तर पनि उनका आमा बुबाको चाहना छोरीले डाक्टर वा इन्जिनियर पढोस् भन्ने थियो । हेमालाई भने स्टाफ नर्स पढ्न मन थियो । पारिवरमा कोही पनि नर्सिङ क्षेत्रमा नभएको र राति ड्युटी पर्ने काम छोरीले गर्नु नपरोस् भनेर उनका आमा बुबाले उनलाई नर्सिङ पढ्न दिइरहेका थिएनन् । उनका दाइले भने बहिनीको सेवा भाव बुझेका थिए । दाइले नै आमा बुबालाई मनाए र हेमाले नर्सिङ पढ्न थालिन् । 

छोटो समयमै एनआइसीयूको स्तरोन्नति 

हेमा थापा २०५२ सालदेखि नै नर्सको रूपमा वीरगञ्ज अस्पतालमा काम गर्दै आइरहेकी छिन् । उनी आफ्नो सुरुवाती सेवाकलादेखि नै इमानदार कर्मचारीको रूपमा चिनिन्छिन् । उनको कामको मूल्याङ्कन गर्दै २०७४ सालमा उनलाई एनआइसीयूको इन्चार्ज बनाइयो । त्यहाँ पनि उनले आफ्नो क्षमतालाई प्रमाणित गरिन् । उनले सरकारी मापदण्ड पूरा हुने गरी दुई वर्षमा अक्सिजन पाइपलाइनेदेखि लिएर कङ्गारु आमा हेरचाह एकाइसम्म स्थापना गराएर एनआइसीयूमा हुनुपर्ने सबै मापदण्ड पूरा गरिन् । एनआइसीयू विभाग पाँच बेडबाट स्तरोन्नति भएर दस बेडको भयो ।

सात महिनामै अधिकतम मुद्दा व्यवस्थापन गर्न सफल

२०७८ साल माघ महिनादेखि हेमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीसीएमसी) को फोकल पर्सनको रूपमा पनि काम गरिरहेकी छिन् । ओसीसीएमसीलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्न उनले पहिले आफैले तालिम लिइन् । सञ्चालन कार्यविधि र मापदण्ड तयार गरिन् । आफू मातहतका कर्मचारीलाई पनि सिकाउँदै गइन् । एउटा साँघुरो कोठामा सीमित, नाम मात्रको केन्द्रलाई चलायमान बनाइन । उनले नेतृत्व लिएको सात महिनामा नारायणी अस्पतालस्थित ओसीसीएमसीले पूरा गर्नुपर्ने सरकारले तोकेको मापदण्ड पुरा गर्‍यो ।

ओसीसीएमसीमा प्राय महिला हिंसाका घटनाहरू बढी आउँछन् । घटनाको तत्कालीन समाधानका लागि हेमाले नियम कानुनको मद्दत र घटनाको अवस्था हेरेर कदम चाल्ने गर्दछिन् । तर, मानसिक आघात पुगेकाहरूलाई मनोसामाजिक परामर्श आवश्यक हुन्छ भन्ने बुझेपछि ६ महिनाको मनोसामाजिक परामर्शको प्रशिक्षण लिइन् र आवश्यक परेका पीडितहरूलाई  परामर्श दिन थालिन् । यसले ओसीसीएमसीप्रति सेवाग्राहीको विश्वास बढ्न थाल्यो । थोरै समयमा नै सरकारको मापदण्ड अनुसार सबै कुरा भएको र अधिकतम मुद्दाहरूको व्यवस्थापन गर्न सफल भएकै कारण ७ महिना भित्र अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले प्रशंसा पत्र पनि पायो ।

कोभिड हिरो

कोभिडको समयमा उनी दिनरात अस्पतालमै हुन्थिन् । सबै जना आफ्नो काम सकेर घर फर्किदा पनि उनी अस्पतालमै हुन्थिन् । उनलाई साँच्चिकै अप्ठेरोमा परेको बिरामी आउँदा कसले हेर्छ भन्ने चिन्ता हुन्थ्यो । आफन्तले उनको जिम्मेवारीलाई जिद्दी ठानेका थिए । तर परिवारले सधैँ साथ दियो । श्रीमान् उनले ड्युटी जानुपर्छ भन्दा पुर्‍याउन तयार हुन्थे । आमाले दिनमा पाँच पटक फोन गर्नुहुन्थ्यो । कुरा नगरे पनि एक पटक अनुहार देखा भन्नुहुन्थ्यो ।

परिवारको सहयोगले हेमालाई थप हौसला दियो । उनलाई आफ्नो ज्यान भन्दा पनि जिम्मेवारी प्रतिको बफादारिता महत्त्वपूर्ण लाग्यो । कोभिडविरुद्धको पहिलो सुई कसैले लिन मानेका थिएनन् । यसमा पनि हेमा नै अगाडी सरिन् । धेरैले त उनलाई आत्महत्या गर्न जान थाली भने । उनलाई कसले के भन्छ भन्नेमा कहिल्यै पर्बाह भएन । पाएको जिम्मेवारी इमानदारिता पूर्वक पुरा गर्न सक्छु या सक्दिन भन्नेमा बढी चिन्ता भयो ।

सुत्केरीको सालनालबाट बायो ग्याँस

हेमा थापा सरकारले दिने ६ महिने पर्यवेक्षक प्रशिक्षण कार्यक्रममा सहभागी भएकी थिइन ।  प्रशिक्षण कार्यक्रमअन्तर्गत उनले एउटा परियोजना गर्नुपर्ने थियो । नारायणी अस्पतालमा महिनामा ९०० जना जति सुत्केरी हुने गर्दछन् । त्यसबाट जम्मा हुने सालनालको गन्धले अस्पताल परिसरलाई दुर्गन्धित बनाएको थियो । त्यसको व्यवस्थापन के होला भनेर उनले सोचिरहेकी थिइन् । उनले त्यसको व्यवस्थापनका लागि सालनालबाट चल्ने बायो ग्याँस बनाउने परियोजना अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई सुनाइन । मेसुलाई पनि उनको परियोजना मन पर्‍यो । परियोजना कार्यान्वयन भयो । बस्ती प्रदूषणबाट जोगियो । उत्पादित ग्याँस सदुपयोग भयो ।

बोल्न नसक्नेको आवाज अनि असहायको सहारा

जो बोल्न सक्दैनन्, जसको अस्पतालमा पहुँच हुँदैन, जो अस्पतालमा उपचारका लागि आउँछन् तर बेवारिसे जस्तै हुन्छन् । उनीहरूको सहारा हेमा थापा भइदिन्छन् । सुरुमा उनीहरूलाई प्राथमिक उपचार दिएर निको पार्छिन् । आफन्त भए आफन्त खोजेर जिम्मा लगाउँछिन् । नभए वीरगञ्ज स्थित मानव सेवा आश्रमको जिम्मा लगाइदिन्छिन् । चार वर्ष अगाडी अस्पताल नजिकै भेटिएकी एक जना बेवारिसे आमालाई उपचार पश्चात् मानव सेवा आश्रममा लिएर गएकी थिइन् ।

त्यस पश्चात् बेवारिसे थुप्रै महिला पुरुषलाई उनले उपचार गरेर मानव सेवा आश्रमको जिम्मा लगाएकी छिन् र त्यहाँ भएका थुप्रै वृद्ध वृद्धालाई उपचारका लागि सहजीकरण गरेकी छिन् । मानव सेवा आश्रमका देवेश गुप्ताका अनुसार हेमा घडी हेरेर ड्युटी गर्ने कर्मचारीमा पर्दैनन् । देवेश आफै पनि नर्सिङ पढ्ने विद्यार्थीलाई तालिम दिन कलेज गइरहन्छन् । त्यहाँ आउने धेरै जसो विद्यार्थीले हेमा दिदीजस्तो मान्छे नर्सिङ क्षेत्रमा भएको देखेर म पनि नर्सिङ पढ्न आए भनेको सुनेका छन् । त्यसैले पनि देवेशले भेटेका थोरै सम्मानित व्यक्तिमा हेमा पर्दछिन् ।

हेमालाई चिन्नेहरू कसैले उनलाई असहायको सहारा ठान्दछन्, कसैले उनलाई परिवर्तनको प्रयाय त कसैले उनलाई प्रेरणा । अस्पतालकै नर्स श्रुति शाह उनलाई फ्लोरेन्स नाइटिङ्गेलकै साक्षात् रूप ठान्दछिन् । उनी भन्दछिन्, “हामीले फ्लोरेन्स नाइटिङ्गेल त देखेका छैनौँ, तर हाम्रो लागि फ्लोरेन्स नाइटिङ्गेल हेमा दिदी नै हो । दिन रात नभनी कुनै पनि समय आउनुहुन्छ । अस्पतालको लागि मरिमेटी काम गर्नुहुन्छ । यदि कसैलाई सहयोग चाहियो भने गुहार्नुपर्ने मान्छे पनि हेमा दिदी नै हो ।”

Back to top