इस्तखार अंसारी। पखेटा भएका र नभएका दुवै थरीमा पाइने नरम बनावटको २ देखि २.५ मिमि लामा यी कीराको शरीरमा सेतो पाउडर जस्तो पदार्थ भेटिन्छ । पखेटा भएका लाहीहरु मैला हरिया वा पहेला हरिया रङ्गका हुन्छन् । पखेटा नभएका लाहीहरुको शरीरमा काला दागहरु हुन्छन् ।
रायो, तोरी, मूला, शलगम, काउली र ब्रोकाउलीमा बढी मात्रामा लाग्ने यो कीरा आलु, काँक्रो, केराउ, प्याज र सिमीमा पनि यदाकदा भेटिन्छ ।
पोथी लाहीले पातको तल्लो सतहमा अण्डा पार्दछ । प्रशस्त आहारा उपलब्ध भएको अवस्थामा पोथी लाहीले सिधै बच्चा लाही जन्माउन सक्दछन् यस्तो अवस्थामा भालेको आवश्यकता हुँदैन । प्रति दिन ३–६ बच्चा लाहीको दरले १५० भन्दा बढी बच्चा जन्माउन सक्छ ।
पखेटादार पोथी लाहीहरु कार्तिकको तेस्रो सातादेखि वालीमा देखा परी चैत्र महिनासम्म आक्रमक रुपमा रहन्छन् । यस अवधिमा ११ औँ पुस्ता सम्म तयार हुन सक्छ । यो लाही कीरा १५–२१ दिनसम्म बाँच्छ ।
क्षतिको लक्षण
वयस्क र बच्चा दुवै लाहीहरुले बोटका विभिन्न भागहरुवाट रस चुसेर खाइ बोटको रस सन्तुलन बिग्रन र पातहरु पहेला, गुजुमुजु पर्ने वा बटारिने हुन्छ । अत्यधिक आक्रमण भएको अवस्थामा डाँठहरु ओइलिन्छन्, बोटहरुको विकास रोकिन्छ र अन्तमा सुकेर मर्दछन् । लाहीहरुले निकालेको गुलियो बिष्टका कारण पातमा कालो ढुसी पनि उम्रन्छ । यो कीराले भाइरस जन्य रोगहरु पनि बोट बिरुवामा सार्दछ ।
व्यवस्थापन
– नाइट्रोजनयुक्त रासायनिक मलको बढी प्रयोग नगर्ने ।
– यो कीराको प्राकृतिक शत्रु लेडी बर्ड विटल कीराको संरक्षण गर्ने ।
– स्थानीयस्तरमा नीमको बीउवाट बनेको झोल, खुर्सानीको प्रयोग गरी बनाइएको झोल वा लसुनको झोल प्रयोग गरेर व्यवस्थापन गर्न सकिन्छ ।
– गाईवस्तुको मुत्र र पानी (१ः४) को अनुपातमा मिसाइ २–३ दिनको फरकमा छर्ने ।
– प्रकोप बढ्दै गएमा डाइमेथोएट ३५ प्रतिशत इसि विषादी १.५ मिलि प्रति लिटर पानीका दरले वा मालाथियन ५० प्रतिशत इसि १ मिलि प्रतिलिटर पानीका दरले विरुवा राम्रोसँग भिज्ने गरी छर्ने ।
सन्दर्भ सामाग्रीहरु :
१. खैरगोली, लक्ष्मी प्रसाद, २०३७, आलुवाली, श्रीमती सरिता खैरगोली, बानेश्वर, काठमाण्डौँ, नेपाल ।
२. नेउपाने, फणीन्द्र प्रसाद, २०३३ वाली विरुवाका शत्रुहरु र तिनको रोकथाम, साझा प्रकाशन, काठमाण्डौं, नेपाल ।
३. जोशी, समुन्द्र लाल, २०५१, नेपालमा तरकारी बालीका मुख्य हानिकारक कीराहरु, कृषि विकास विभाग, तरकारी विकास महाशाखा, खुमलटार, ललितपुर, नेपाल ।
(लेखक इस्तखार अंसारी वीरगञ्ज स्थाई घर भई हाल उनी टिकापुर कैलालीको सुदुरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकायमा अध्ययनरत छन् ।)