वीरगञ्ज । सिर्सिया नदीलाई प्रदूषित गर्ने उद्योगहरूमा वीरगञ्ज महानगरपालिकाले फोहोर थुपार्न थालेपछि उद्योगीहरूले अबदेखि नदीमा रसायनयुक्त पानी र फोहोर वस्तु नफाल्ने प्रतिबद्धता जनाएका छन् ।
महानगरपालिकाले चेतावनी र आर्थिक जरिवाना दिएर पनि नटेरेपछि अर्निका प्रोसेसिङ उद्योग प्रालि, श्रीसिद्धि टेक्सटाइल्स प्रालि, र मोरियम लेदर इण्डस्ट्रिजमा आइतबारदेखि दिनहुँ ट्याक्टर र ट्रिपरमा कचरासहितको फोहोर थुपार्न थालेको थियो । मंगलबार अर्निका टेक्सटाइल्समा १६ ट्याक्टर फोहोर लगेर थुपारिएको थियो ।
मंगलबार अर्निका, श्रीसिद्धि, र मरियमका सञ्चालकहरूले मेयर राजेशमान सिंहको कार्यकक्षमा पुगेर अबदेखि नदीमा उद्योगबाट निस्कने रसायनयुक्त पानी र अन्य फोहोर वस्तु नमिसाउने लिखित प्रतिबद्धता जनाए । उनीहरूले नदीमा प्रदूषण नगर्ने, उद्योग परिसरमा वाटर ट्रिट्मेन्ट प्लान्ट जडान गर्ने र उक्त प्लान्टमा रसायनयुक्त पानी प्रशोधन गरेर सफा पानी मात्र नदीमा मिसाउने प्रतिज्ञा गरेका छन् । साथै, अर्निकाका सञ्चालकले ३ लाख रुपैयाँको जरिवाना २४ घण्टाभित्रै तिर्ने पनि बताए ।
तर, मेयर सिंहले यसअघि पनि यस्तै प्रतिबद्धता जनाइएको भए पनि कार्यान्वयन नभएको उल्लेख गर्दै उद्योगीहरूले यसपटक पनि प्रतिबद्धता पालना गर्नेमा विश्वस्त हुन नसकेको बताए । यसअघि पनि ९ वटा उद्योगका सञ्चालकहरूले १५ दिनको समय मागेर प्रतिबद्धता जनाएका थिए, तर तीन महिनासम्म पनि नदी प्रदूषित भइरहेकाले महानगरपालिकाले आइतबारदेखि फोहोर थुपार्न थालेको थियो ।
मेयर सिंहले उद्योगीहरूलाई भने, “तपाईहरूले जे सुकै प्रतिबद्धता जनाए पनि त्यसमा मलाई भरोसा लाग्दैन। मलाई नदी सफा चाहिन्छ । अब पनि नदी प्रदूषित भइरह्यो भने महानगरपालिकाले अझ कठोर कदम चाल्नेछ ।”