×

वीरगञ्ज । तेजाब आक्रमणमा परेका पीडितहरुको वास्तविक जीवनका कथालाई आधार मानेर तयार गरिएको चलचित्र ‘नमेटिने घाउ’ यही भदौ ७ गते, शुक्रबारदेखि नेपालभर एकैसाथ प्रदर्शनमा आउने भएको छ। वीरगञ्जको होटेल कन्टिनेन्टलमा आज आयोजित पत्रकार सम्मेलनमा चलचित्रका निर्माता तथा निर्देशक रमित ढुङ्गानाले चलचित्रको बारेमा जानकारी गराएका थिए।

निर्देशक ढुङ्गानाका अनुसार, यो चलचित्र विशेष गरी तेजाब आक्रमणबाट पिडित भएकाहरुको शारीरिक र मानसिक पीडालाई चित्रण गर्छ। उनले चलचित्रमा एसिड आक्रमण गर्ने अपराधीलाई आजीवन कैदको सजाय हुनुपर्ने माग पनि प्रस्तुत गरिएको बताए। ‘नमेटिने घाउ’ नामक यो चलचित्रले समाजमा चेतना फैलाउने उद्देश्य बोकेको र यसलाई सबैले एक पटक हेर्नैपर्ने निर्देशक ढुङ्गानाले जोड दिए।

यो चलचित्रमा तेजाब आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटिएको छ। चलचित्रमा १२५ जना कलाकारको अभिनय रहेको छ, जसमा प्रमुख भूमिका प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव नेपाल, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, राप्रपाका नेता ज्ञानेन्द्र शाही, एसिड पीडित मुस्कान खातुन, प्राप्ति पौडेल, लिजा कोरानी, रोजल थापा, कमल देवकोटा लगायतका व्यक्तिहरूले निर्वाह गरेका छन्।

३ करोड रुपैयाँको लागतमा निर्माण गरिएको यो चलचित्र ५८ दिनमा तयार पारिएको हो। अभिनेता रमित ढुङ्गानाले निर्देशन र निर्माण गरेको यस चलचित्रमा शिवम अधिकारीको कथा र पटकथा, निरज कन्डेलको छायांकन, बनिश साहको सम्पादन, ओम सुनारको संगीत, र किरण ढकालको एक्सन रहेको छ।

Back to top