वीरगञ्ज । वीरगञ्जकी मुस्कान खातुनसहित तेजाब आक्रमणबाट बाँचेका पात्रहरुको जीवनीमा आधारित चलचित्र नमेटिने घाउ यही भदौ ७ गतेदेखि प्रदर्शन हुने भएको छ । शनिवार वीरगञ्जको आदर्शनगरस्थित होटल कन्ट्रि ईनमा पत्रकार सम्मेलन गर्दै निर्माण पक्षले चलचित्रका बारेमा जानकारी गराएको हो ।
अभिनेता रमित ढुंगानाको निर्माण एवं निर्देशनमा निर्मित चलचित्र ‘नमेटिने घाउ’ मा वीरगञ्जकी मुस्कान खातुनसहित ३३ जना एसिड सर्भाइवरहरुको कथा छ । विभिन्न समय र स्थानमा भएका एसिड आक्रमणको सत्य घटनालाई चलचित्रमार्फत पस्किएर समाजमा सन्देश दिने उद्देश्यले फिल्ममा धेरै मेहनत र लगानी लागेको निर्देशक रमित ढुंगानाले बताए । तेजाब आक्रमणका कारण भोग्नुपरेको पीडाहरु फिल्ममार्फत देखाएपछि समाजमा सकारात्मक परिवर्तन ल्याउनुका साथै एसिड सम्बन्धी नीति निर्माणमा पनि सघाउ पुग्ने उनको विश्वास छ ।
फिल्ममा एसिड आक्रमण गर्नेहरुले पाउने दण्ड सजाय लगायतका बिषयहरु प्रष्ट देखाइएका कारण यस्ता घटनामा कमि आउने मुस्कान खातुनले बताइन् । शिवम् अधिकारीले लेखेको कथालाई ढुंगानाले नै निर्माण र निर्देशन गरेका हुन् । फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका पनि रहेको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित पूर्व शिक्षा मन्त्री देबेन्द्र खनाल, प्रतिनीधि सभा सदस्य ज्ञानेन्द्र शाही, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुंगेल अतिथी कलाकारका रुपमा छन् ।
फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्रसिंह कुसवाह, लालना चिमोरिया, स्वस्तिमा कार्की, लिजा कोरानी, एलिसा गुरूङ, सुरवीर पण्डित लगायतले अभिनय गरेका छन् ।
फिल्मको ट्रेलर यसअघि नै सार्बजनिक भइसकेको छ, जसलाई धेरै दर्शकले रुचाएका छन् । दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिँदै न्यायका लागि वकालत गर्न फिल्मले सघाउ पुग्ने धारणा राखेका छन् ।