वीरगञ्ज । भेडियाहीमा जेठ महिनामा भएको जबरजस्ती करणीको घटनामा पीडित भनिएकी महिलाले अदालतमा इन्कारी बयान दिएपछि पर्सा प्रहरीले गरेको अनुसन्धानमाथि प्रश्नचिन्ह खडा भएको छ।
घटनाका आरोपित जितु सर्राफ, जो हाल पुर्पक्षका लागि कारागारमा छन्, विरुद्ध जाहेरी दिने निजकै भाउजुले अदालतमा आफ्नो पहिलेको बयान विपरीत नयाँ बयान दिएपछि यो घटना चर्चामा आएको हो।
स्थानीय युवक सर्राफले आफ्नै भाउजुलाई लठ्याउने पदार्थ मिसाएर जबरजस्ती करणी गरेको आरोपमा पर्सा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको थियो। प्रहरीको अनुसन्धानपछि सम्मानित पर्सा जिल्ला अदालतले सर्राफलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो।
तर, पछिल्लो समय समाजका अगुवाहरूको पहलमा पीडितलाई विभिन्न प्रलोभन र दबाब दिइ इन्कारी बयान दिन लगाएर सर्राफलाई कारागार मुक्त गराउने प्रयास भइरहेको छ। पर्सा सुनचाँदी व्यवसायी संघका अध्यक्ष भुलन प्रसाद सोनारको विशेष पहलमा पीडित र पीडक पक्षबीच सहमति गराइएको चर्चा चलिरहेको छ।
पीडित र पीडक देवर-भाउजु सम्बन्धमा रहेका कारण जातीय अगुवाहरूले विशेष पहल गरी बयान फेर्न लगाएको आरोप लागिरहेको छ। यस घटनामा संलग्न भनिएका व्यक्तिहरूले पीडितलाई आर्थिक प्रलोभन तथा मानसिक र सामाजिक दबाब दिएर बयान फेर्न बाध्य पारेको आरोप पनि लगाइएको छ।
यस सम्बन्धमा पर्सा सुनचाँदी व्यवसायी संघका अध्यक्ष सोनारले भने आफू कुनै पनि किसिमको विचौलियाको भूमिका निर्वाह नगरेको दाबी गरेका छन् ।
यस घटनाले समाजमा आपराधिक गतिविधिहरूलाई बढावा दिने डर छ। बिचौलियाहरूको कारणले जघन्य अपराधमा पनि मिलापत्र गराइने हो भने समाजमा सुशासनको नारा केवल कागजमा सीमित हुने चिन्ता जनाइएको छ।
पीडित भनिएकी महिलाको इन्कारी बयानले यस घटनामा दोषी को हो भन्ने प्रश्न अझै अनुत्तरित छ। साथै, प्रहरी अनुसन्धानमा कुनै कमजोरी रहेको हो कि भन्ने गम्भीर प्रश्न पनि उठेको छ।