वीरगञ्ज । वीरगञ्ज स्कुल आइडलको उपाधि वीरगञ्जको नेशनल ईन्फोटेक कलेजका केशब भारद्वाजले उचालेका छन् । वीरगञ्जमा शनिवार सम्पन्न समापन समारोहमा केशव मानन्धरले उपाधि चुमेका हुन् ।
जगदम्बा इन्टरप्राइजेस प्रा.ली.को मुख्य आयोजना र सामुदायिक संस्था सानो पाइलाको सहप्रायोजनमा गायत्री इन्टरटेनमेन्ट एण्ड म्यानेजमेन्ट सर्भिसेसले आयोजना गरेको वीरगञ्ज स्कुल आइडलमा केशव विजयी हुँदा वीरगञ्ज पब्लिक कलेज (बिपिसी) की जहान्बी डंगोल द्वितिय भएकी छिन् भने गौतम मा.वि.का नमन श्रेष्ठ तृतिय भएका छन् ।
प्रतियोगिताका प्रथमले नगद एघार हजार १११ रुपैयाँ, द्वितिय हुनेले पाँच हजार ५५५ रुपैयाँ र तृतिय हुनेले चार हजार ४४४ रुपैयाँसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेका थिए ।
प्रतियोगितामा गायक तथा संगीतकारत्रय अशोक प्रधान, सद्धाम हुसैन र प्रभात यादवले निर्णायकको भूमिका निर्वाह गरेका थिए । तीन सय भन्दा बढीले सहभागिता जनाएको अडिसनबाट मेघा अडिसनमा ५४ जना छनौट भएका थिए । जसमध्ये गाला राउण्डमा २३ जना प्रवेश गरेका थिए भने फाइनलका लगि दस जना छनौट भएका थिए । फाइनलमा पुगेका दस जना बीचको प्रतिस्पर्धा अत्यन्तै रोचक भएको निर्णायक अशोक प्रधानले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी महिला अधिकारकर्मी एवम् सानो पाइलाकी उपाध्यक्ष डा. सुष्मा तिवारी द्विवेदीले वीरगञ्जमा संगीत प्रतिको आकर्षण बढाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखिन् । विद्यार्थीहरुको क्षमता र प्रतिभा प्रस्तुत गर्ने अवसर प्राप्त गरेको उनको भनाई छ । आफुले चाहेर पनि पूरा गर्न नसकेको गाउने चाहना नयाँ पुस्ताले खुलस्त रुपमा अंगालेको प्रति उनले खुशी व्यक्त गरिन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २० का वडाअध्यक्ष रामकिशोर सिंह परागले कला संगीतबाट पनि छुट्टै पहिचान स्थापित गर्न सकिन्छ भन्ने चेतनाको विकास हुँदै गएको बताए । संगीतमै पनि भविष्य उज्जवल हुन सक्छ भन्ने पछिल्ला थुप्रै उदाहरण भएको हुँदा यस्ता कार्यक्रमले विद्यार्थीको मनोबल बढ्ने उनको विश्वास छ ।
जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफले पनि वीरगञ्ज स्कुल आइडलले निरन्तरता पाउनुपर्ने आवश्यक्ता औँल्याए । हरेक वर्ष कार्यक्रम गरेर विद्यार्थीहरुलाई अवसरको सृजना गर्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाइँ, अल्पाइनल स्कुलका प्रबन्ध निर्देशक बिनोद उपाध्याय, ग्लोबल बिजनेस कलेजका प्रबन्ध निर्देशक श्रीराम दास, मुनलाईट मा.वि.का प्रबन्ध निर्देशक सुलभ केसी, खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव, नेपाल मुस्लिम पत्रकार संघ पर्साका अध्यक्ष मन्सुर खाण, आशा किरण केन्द्रकी संयोजक अप्सना खातुन, कञ्चनजंघा मा.वि.का प्रबन्ध निर्देशक मार्टिन मोक्तान, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह लगायतको उपस्थिती रहेको थियो ।