×

चन्द्रनगर । चन्द्रनगर गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनबारे स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको आयोजनामा र चन्द्रनगर गाउँपालिकाको सहकार्यमा कार्यक्रम गाउँपालिकाको सभा हलमा सम्पन्न भएको हो ।

कार्यक्रममा अख्तियारका शाखा अधिकृत विकास मिश्रले सर्लाहीका स्थानीय तहहरूमा आयोगमा प्राप्त उजुरी र तिनको फर्छ्यौट प्रक्रियाबारे जानकारी दिएका थिए । उनले भ्रष्टाचार कुन कार्यहरूबाट हुनसक्छ र कानुनअनुसार कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुति दिएका थिए । कार्यक्रममा सहभागीहरूको जिज्ञासाको उत्तर अख्तियारका उपसचिव तुलसीराम पौडेलले दिएका थिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालले विधि र प्रक्रियामा त्रुटि भए भ्रष्टाचारको आरोप लाग्ने सम्भावना हुने बताए । “म विगत सात वर्षदेखि स्थानीय तहमा प्रशासनिक प्रमुखको भूमिकामा छु,” उनले भने, “चन्द्रनगर गाउँपालिकाले कानुनअनुसार काम गर्दै आएको छ र अख्तियारबाट आएका निर्देशन र चिठीपत्रहरूलाई प्राथमिकतामा राखेर काम गर्दै आएका छौँ ।”

गाउँपालिकाका उपप्रमुख गीता देवी महतोले अख्तियारले आयोजना गरेको कार्यक्रमले धेरै नयाँ कुरा सिक्ने अवसर दिएकोमा खुसी व्यक्त गरिन् । उनले जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्यले न केवल गाउँको विकास हुने, तर भ्रष्टाचारको रोकथाममा पनि ठोस परिणाम दिन सक्ने विश्वास व्यक्त गरिन् ।

गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जनप्रतिनिधिले जिम्मेवारीका साथ काम गर्दै सुशासन कायम गर्नुपर्नेमा जोड दिए । “भ्रष्टाचारको असर केवल व्यक्तिमा सीमित हुँदैन, त्यसले पूरै परिवार र समाजलाई प्रभावित गर्छ,” उनले भने. “अवसर र जिम्मेवारी पाएको बेला इमानदारीपूर्वक काम गर्न सबैलाई आह्वान गर्छु ।” अध्यक्ष महतोले यस्ता अन्तरक्रिया कार्यक्रमले थप ऊर्जा र मार्गदर्शन दिने हुँदा अख्तियारलाई धन्यवाद पनि व्यक्त गरे।

अध्यक्ष महतोले अनावश्यक उजुरीले विकासका काममा अवरोध आउने बताउँदै आयोगलाई आवश्यक सावधानी अपनाउन सुझाव दिए । “गलत नियतले गरिएको उजुरीका कारण जनप्रतिनिधि र कर्मचारीहरू अनावश्यक तनावमा पर्ने गर्छन् । त्यसैले उजुरीको छानबिन प्रक्रियामा विकास निर्माणका काममा रोक नलगाई अघि बढाउनुपर्छ,” उनले भने ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका उपसचिव तुलसीराम पौडेल, चन्द्रनगरका उपप्रमुख गीता देवी महतो, प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पाल, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, जनप्रतिनिधि र कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सञ्चारकर्मीहरूको पनि सक्रिय सहभागिता रह्यो ।

Back to top