फाइल तस्बिर ।
वीरगञ्ज । सहकारीको रकम दुरुपयोग प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइका लागि पार्टीका नेता–कार्यकर्ताले विभिन्न तहमा प्रयास गरिरहेका छन् ।
कार्तिक २ गते पार्टी कार्यालय वनस्थलीबाट पक्राउ परेर पोखरा पुर्याइएका लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै रास्वपा सुरुबाटै आक्रोशित रहँदै आएको छ ।
रास्वपाले कार्तिक ३ गतेदेखि काठमाडौँको माइतीघर र पोखरामा प्रदर्शन सुरु गरेको थियो । तर पोखरामा लामिछानेविरुद्ध पीडित सहकारी सदस्यहरूले समेत विरोध गर्न थालेपछि रास्वपाले आन्दोलनलाई फेरि काठमाडौँमै केन्द्रित गर्यो । काठमाडौँमा जारी विरोधका क्रममा रास्वपाले सरकारविरुद्ध नाराबाजी मात्र गरेन, प्रधानमन्त्री केपी ओलीको प्रतीकात्मक शवयात्रा पनि गरेको थियो ।
सडक आन्दोलनसँगै रास्वपा नेताहरूले लामिछानेको रिहाइका लागि सरकारी तहमा ‘लबिङ’ गर्न थालेको आरोप पनि लागेको छ । कार्तिक १२ गते राति उपसभापति डिपी अर्याल र प्रमुख सचेतक सन्तोष परियार बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग लामिछानेको मुद्दामा सहानुभूति दर्साउन आग्रह गरेको आरोप लागेको हो ।
एमालेका नेता विष्णु रिजालले रास्वपा नेताहरूको यो प्रयासलाई आलोचना गर्दै कानुनी प्रक्रिया अनुसार मात्र न्याय सम्भव हुने बताएका छन् । रिजालले रास्वपाले दिनभर प्रधानमन्त्री विरुद्ध नारा लगाएर राति मुद्दा फिर्ता गर्न बालुवाटार छिरेको भन्दै व्यङ्ग्य समेत गरेका छन् ।
प्रधानमन्त्री ओलीसँगको भेटपछि उपसभापति अर्याल र प्रमुख सचेतक परियारले भने, उक्त भेट लामिछानेको विषयमा केन्द्रित नभई आन्दोलनको शान्तिपूर्ण प्रक्रिया सुनिश्चित गर्नका लागि मात्र भएको दाबी गरेका छन् । परियारका अनुसार, प्रधानमन्त्रीलाई राजनीतिक प्रतिशोध नसाँध्न आग्रह गरिएको र प्रधानमन्त्रीले कानुनी प्रक्रिया अनुसार सबै हुने आश्वासन दिएको बताए ।
रास्वपाले बुधवारदेखि सडक आन्दोलनलाई पनि तिहार र छठको चाडलाई ध्यानमा राख्दै स्थगित गर्ने निर्णय गरेको छ । कार्यवाहक प्रवक्ता मनिष झाले आन्दोलनलाई छठपछि निरन्तरता दिने जानकारी दिएका छन् । प्रमुख सचेतक परियारले अनुसन्धानलाई सहयोग पुर्याउन आन्दोलन रोकिएको बताएका छन् भने, आन्दोलनको आगामी कदमको रणनीति पनि चाडपर्वपछि तय गरिने जनाएका छन् ।