×

सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७, बाख्रा बजारस्थित मिर्चैया–कटारी राजमार्गमा यात्रुवाहक बस दुर्घटनामा पर्दा १३ जना यात्रु घाइते भएका छन्।

उदयपुरको कटारीबाट मिर्चैयातर्फ आउँदै गरेको ना।३।ख ७०३४ नम्बरको मिनी बस दुर्घटनामा परेको हो। दुर्घटना पैदल यात्री सुभान शेखकी ५ वर्षीया छोरी नाचपरि खातुनलाई जोगाउने क्रममा बस अनियन्त्रित भई सडकको दाहिने साइडमा पल्टिएको बताइएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका १३ जनाको मिर्चैयास्थित मनकामना अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये खातुनको टाउकोमा गम्भीर चोट लागेको हुँदा उनलाई थप उपचारका लागि न्युरो हस्पिटल विराटनगर रेफर गरिएको छ।

दुर्घटनापछि बस चालक लक्ष्मी साह, मिर्चैया नगरपालिका–६ का ३१ वर्षीय युवक, घटनास्थलबाट फरार रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार, गाडीको ब्रेक फेल भएपछि दुर्घटना भएको प्रारम्भिक अनुमान छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Back to top