वीरगञ्ज । वीरगञ्जमा छायांकन गरिएको हिन्दी आर्ट फिल्म ‘गायक’ को फस्ट लुक सार्बजनिक भएको छ । यस फिल्मका मुख्य कलाकारमा आदित्य पटेल, छोटु राज, ओम आर्य, सक्षम पाठक, अजमत अली अन्सारी, आराध्या श्रीवास्तव, आदत साहिर हाशमी लगायत रहेका छन् ।
फिल्ममा संगीतकार एन एस आर्यले संगीत भरेका छन् भने छायांकनको जिम्मा अर्बिन्द शर्माले निभाएका छन् । फिल्मका निर्माता कृष्ण तत्वा र निर्देशक तथा लेखक आशिष ठाकुर रहेका छन् ।
प्रोडक्सन म्यानेजरको भूमिका आर्यन पटेलले सम्हालेका छन् । कोलकत्ता, बनारस, र वीरगञ्जमा करिब ६ महिना लगाएर यस फिल्मको छायांकन सम्पन्न भएको हो । नेपाली चलचित्र क्षेत्रका कलाकार कामेश्वर चौरसियाको पनि विशेष भूमिका रहेको यो फिल्मले अन्तर्राष्ट्रिय स्तरमा नेपाली कलाकारको पहिचान स्थापित गर्ने अपेक्षा गरिएको छ ।
मुख्य कलाकार आदित्य पटेलका अनुसार फिल्मको प्रि–प्रोडक्सन कार्य सम्पन्न भइसकेको छ भने पोस्ट–प्रोडक्सन कार्य तीव्र गतिमा भइरहेको छ । दर्शकहरूले नेपाली र भारतीय संस्कृतिलाई जोड्ने यस फिल्मलाई चाँडै नै पर्दामा हेर्न पाउने अपेक्षा गरिएको छ ।
निर्देशक आशिष ठाकुरको उत्कृष्ट निर्देशन, स्क्रिप्ट तथा सम्पादन, र निर्माता कृष्ण दास तत्वको बलियो समर्थनले चलचित्रलाई नयाँ उचाइमा पु-याएको छ ।