×

जनकपुरधाम । धनुषाको कमला नगरपालिकाले हिन्दू धर्मावलम्बीहरूको धार्मिक पर्व कार्तिक पुर्णिमाका अवसरमा आज र भोली गरी दुई दिन सार्वजनिक विदा दिएको छ। कमला नगरपालिकाका मेयर विश्वेश्वर यादवले सार्वजनिक विदाको जानकारी दिँदै नगरपालिकाभित्रका सामुदायिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, र नगर कार्यपालिकामा समेत विदा रहने घोषणा गरेका छन्।

कमला नदीमा स्नान गर्दै पूजापाठ गर्ने परम्परालाई मध्यनजर गर्दै यो विदा प्रदान गरिएको जनाइएको छ। परापूर्वकालदेखि नै श्रद्धालुहरूले कमला नदीमा स्नान गरेर कमला माताको पूजा गर्दै भूत मेला मनाउने परम्परा रहेको छ। यो अवसरमा धनुषा, सिरहा, महोत्तरी, सप्तरी, उदयपुर, र सीमावर्ती भारतको मधुवनी, दरभंगा, समस्तीपुरलगायतका जिल्लाबाट लाखौँ श्रद्धालु भक्तजनहरू कमला नदीमा स्नान गर्न आउने गर्छन्।

धार्मिक विश्वास अनुसार, सिकारु धामी–झाँक्रीहरूले यस दिन तन्त्रमन्त्रसहित स्नान गरेपछि तान्त्रिक विद्यामा निपुण हुने मान्यता छ। यो पर्वको क्रममा धामी–झाँक्रीहरूले आफ्नो देवता खेल्दै नदीमा स्नान गरी शक्तिसम्पन्न हुने र कमलेश्वरी देवीको आशीर्वाद प्राप्त हुने विश्वास गरिएको छ। त्यसैगरी, श्रद्धालु भक्तजनहरूले कमला नदी र गंगासागरको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्दछन्।

धार्मिक विश्वास अनुसार, यो मेला लोकआस्थाको रूपमा रहेको र यसलाई अन्धविश्वासका रूपमा नलिई सांस्कृतिक परम्पराको रूपमा स्वीकार्नुपर्ने संस्कृतिविद् एवं साहित्यकार राजेन्द्रप्रसाद विमल बताउँछन्। तर, पछिल्लो समय कतिपयले यस परम्परालाई अन्धविश्वासका रूपमा समेत परिभाषित गर्न थालेको पाइन्छ।

Back to top