×

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१६ गंगापुरस्थित बागमती नहरमा प्रहरीले ११ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मुर्तियाबाट प्रहरी निरीक्षक अमेन्द्र राय यादवको नेतृत्वमा रहेको गस्ती टोलीले नियमित गस्ती गर्ने क्रममा उत्तरबाट दक्षिणतर्फ आइरहेको बा.प्र.०२-०२१ प २४४४ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गरेको थियो।

चेकजाँच गर्दा मोटरसाइकल चालक जिल्ला सिन्धुली, हरीहरपुरगढी गाउँपालिका–८ पाँचतले बस्ने २९ वर्षीय वाङ दोर्जे थिङ र मोटरसाइकलमा सवार सर्लाही, हरीवन नगरपालिका–४ तिनघरे बस्ने ३० वर्षीय सागर लामालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूले बोकेको कालो झोलामा दुईवटा पोकामा ११ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवैलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई सम्मानित सर्लाही अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जानकारी दिएको छ।

Back to top