सिरहा । परापूर्वकालदेखि धार्मिक महत्त्व बोकेको कमला नदीमा कार्तिक पुर्णिमाको अवसरमा स्नान र पूजापाठ गर्न भक्तजनहरुको ठूलो भीड लागेको छ। सिरहा र धनुषा जिल्लाको सीमाना हुँदै बग्ने यस नदीमा शुक्रबार बिहानैदेखि देशका विभिन्न स्थान र सीमावर्ती भारतबाट समेत श्रद्धालु भक्तजनहरुको घुइँचो देखिएको छ।
धार्मिक परम्पराअनुसार, कार्तिक पुर्णिमामा नयाँ सिकारी धामी झाँक्रीहरुले गुरुबाट दीक्षा लिई कमला नदीमा स्नान गरेर कमलेश्वरी माताको पूजाअर्चना गर्दै देउता अर्थात भूत खेल्ने परम्परा रहेको छ। यो विशेष अवसरमा सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर जिल्लाका साथै भारतका मधुबनी, दरभंगा र समस्तीपुर लगायतका स्थानबाट समेत लाखौं श्रद्धालु भक्तजनहरुले नदी स्नान गरेर धार्मिक परम्परालाई निरन्तरता दिइरहेका छन्।
सार्वजनिक विदा घोषणा
यस धार्मिक मेलाको अवसरमा धनुषाको सबैला र कमला नगरपालिकाले सार्वजनिक विदा दिएको छ। सबैला नगरपालिकाका मेयर कारीराम यादवले हिन्दू धर्मावलम्बीहरुको कार्तिक पुर्णिमाको दिन स्नान र पूजापाठको महत्त्वलाई ध्यानमा राख्दै शुक्रबार सार्वजनिक विदा दिएको बताए। यस्तै, कमला नगरपालिकाका मेयर विश्वेश्वर यादवले बिहीबार र शुक्रबार गरी दुई दिनको सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिए।
विदाको दिन कमला नगरपालिकामा रहेका सबै सामुदायिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा नगर कार्यपालिकाका कार्यालयसमेत बन्द रहने मेयर यादवले जानकारी गराएका छन्।
कमला नदीमा वर्षेनि कार्तिक पुर्णिमाको अवसरमा भक्तजनहरु सहभागिता जनाउने परम्परा रहेको छ भने यस वर्षको सहभागिता अझै बढेको देखिन्छ। धार्मिक आस्थाका लागि मेला भर्न आएका श्रद्धालु भक्तजनहरु स्नानसँगै पूजाअर्चना गरी कमलेश्वरी मातासँग आशीर्वाद प्राप्त गर्ने विश्वास राख्छन्।