वीरगञ्ज। नेपाली चलचित्र उद्योगमा लामो समयदेखि समर्पित हुँदै नेपाली कला, संस्कृति, भाषा, र साहित्यको प्रवर्द्धनमा विशिष्ट योगदान पुर्याएका वीरगञ्जका नन्द किशोर प्रसाद श्रीवास्तव (नन्दु श्रीवास्तव) लाई 'विशेष योगदान सम्मान २०८०' प्रदान गरिएको छ।
चलचित्र विकास बोर्डले प्रदान गरेको यस सम्मान उहाँलाई राष्ट्रपति श्री रामचन्द्र पौडेलको समुपस्थितमा आयोजित एक विशेष समारोहका बिच प्रदान गरिएको हो।
उहाँको योगदानको उच्च मूल्याङ्कन गर्दै चलचित्र उद्योगले यस प्रकारको सम्मान प्रदान गरेको बोर्डले जनाएको छ। श्रीवास्तवले नेपाली कला र संस्कृतिको संरक्षणमा गरेको दीर्घकालीन प्रयास र सिर्जनात्मक साधनाले उद्योगमा विशेष पहिचान बनाएको छ।
यस विशेष सम्मानको अवसरमा नन्दु श्रीवास्तवलाई हार्दिक बधाई तथा आगामी दिनमा पनि चलचित्र उद्योगमा उहाँको सार्थक सहभागिता र योगदान निरन्तर रहिरहने अपेक्षा व्यक्त गरिएको छ। साथै, उहाँको दीर्घ जीवन र सुस्वास्थ्यको कामना पनि गरिएको छ।