×

रौतहट । रौतहट जिल्लामा सम्पन्न उपनिर्वाचनको परिणाम सार्वजनिक भएको छ। तीन वटा पालिकाका वडामा निर्वाचन सम्पन्न हुँदा दुई वडामा नेपाली काँग्रेस र एक वडामा नेकपा (एस) का उम्मेदवारले जित हात पारेका छन्।

इशनाथ नगरपालिका–७ बाट नेपाली काँग्रेसका शेख शम्से आलम ७४४ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का जिकरुल्लाहले ४६३ मत प्राप्त गरे।

त्यसैगरी, राजपुर नगरपालिका–६ मा पनि नेपाली काँग्रेसले विजयी हासिल गरेको छ। काँग्रेसका उम्मेदवार शेख अब्दुल खलिकले ६२७ मत प्राप्त गर्दै जित हात पारे भने उनका प्रतिस्पर्धी नेकपा (एमाले) का शेख अनवरले ५७५ मत पाएका थिए।

गढीमाई नगरपालिका–८ मा भने नेकपा (एस) का बजरंगी प्रसाद यादवले ६५५ मतसहित विजयी भए। उनका प्रतिद्वन्द्वी एमालेकी जिउती यादवले ६३१ मत प्राप्त गरे पनि उनी पराजित भइन्।

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र विजयी उम्मेदवारहरूलाई प्रमाणपत्र प्रदान गरिएको जिल्ला निर्वाचन अधिकृत छोटेलाल दासले जानकारी दिए।

यसबीच, इशनाथमा नेपाली काँग्रेसका मधेश प्रदेश सभापति एवं पूर्व भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादव आफैंको वडामा काँग्रेसलाई जिताउन असफल रहे। यो वडामा नेकपा (एस) ले बाजी मारेको छ।

विजयी उम्मेदवारहरूको सम्मानमा वडाहरूमा विजयी जुलुस निकालिएको छ।

Back to top