×

वीरगञ्ज  । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ मा रहेको साउथ सिटी हिमाल हस्पिटल बिरामीको उपचारको नाममा ठगी गरेको आरोप लागेको छ। सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ५ भाडसरकी ३७ वर्षीया राजपती कुमारीलाई मंसिर १७ गते दुर्घटनामा परेपछि उपचारका लागि उक्त अस्पतालमा ल्याइएको थियो।

दुई दिनमै भारी खर्च
अस्पतालले दुई दिनको उपचार खर्चको नाममा ९५ हजार ६ सय रुपैयाँ लिएको बिरामीका आफन्तले आरोप लगाएका छन्। औषधि खर्चको रूपमा १३ हजार ८ सय ५४ रुपैयाँको विवरण अस्पतालकै लेटर हेडमा लेखेर दिएको छ। त्यस्तै, अस्पतालकै क्यान्टिनमा दुई दिनको खाना र खाजाको नाममा १० हजार ५ सय रुपैयाँ लिएको आरोप छ।

भ्याट बिल नदिएको गुनासो
अस्पतालले भ्याट बिलसहितको विवरण उपलब्ध गराउनुपर्ने भए पनि बिरामीका आफन्तलाई अस्पतालको लेटर हेडमा लेखिएको खर्चको विवरण मात्र उपलब्ध गराएको बताइएको छ। यस विषयमा बिरामीका आफन्तले जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएका छन्।

नयाँ सेवा तर ठगीको आरोप
साउथ सिटी हिमाल हस्पिटल, हिमाल इन्स्टिच्युट अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजीको नाममा प्राविधिक शिक्षालयका रूपमा नर्सिङ र सीटीईभीटीका प्राविधिक विषयहरू अध्यापन गराउँदै आएको संस्था हो। सरकारले नर्सिङ कलेज सञ्चालनका लागि न्यूनतम १०० बेडको अस्पताल अनिवार्य गरेको नीति ल्याएपछि उक्त शिक्षालयले १०० बेडको अस्पताल निर्माण गरी सेवा थालेको थियो।

भर्खरै सेवा सुरु गरेको अस्पतालले बिरामीहरूमाथि महँगो शुल्क लगाएर ढाँड सेक्ने गरी शुल्क उठाएको बिरामीका आफन्तको गुनासो छ।

प्रशासनको ध्यानाकर्षण
अस्पतालको गतिविधि र शुल्क संरचनामा शंका गर्दै बिरामीका आफन्तले सम्बन्धित निकायलाई तत्काल कदम चाल्न आग्रह गरेका छन्। पर्सा प्रशासनले यस घटनाको छानबिन गर्ने तयारी गरेको जनाएको छ।

यता साउथ सिटी हिमाल हस्पिटलका प्रतिनीधिले अस्पतालमै आएर बिरामीको बिल हेर्न अनुरोध गरे । यात्रा डेलीले अस्पतालका प्रतिनीधिसँग कुरा गरेर बुझ्न खोज्दा उनले भने, ‘हामीले हचुवाको भरमा बिल बढी दिएका हैनौ, आएर बिल हेर्नुहोस्, औषधी लगायत सबैको खर्च जति छ, त्यति नै भनेका हौ ।’ 

सम्बन्धित निकायको चासो आवश्यक
नयाँ अस्पतालहरूले स्वास्थ्य सेवा प्रदान गर्नुका साथै जनताको विश्वास जित्नुपर्नेमा ठगीजस्ता आरोप लाग्नु चिन्ताजनक रहेको विज्ञहरूले बताएका छन्। यस विषयमा सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्ने देखिन्छ।

 

 

Back to top