×

बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१, अमलेखगञ्जबाट ६० किलो चाँदीसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी नायब निरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा खटिएको टोलीले बागमती प्रदेश ०३–००५ प ३२६ नम्बरको स्कुटरमा चाँदी ओसारपसार भइरहेको अवस्थामा चेकजाँच गर्दा बरामद भएको बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । 

उनका अनुसार स्कुटीको खुट्टा राख्ने स्थानमा विशेष तरिकाले फल्स बटम बनाई लुकाइछिपाइ लगिएको अवस्थामा चाँदी जस्तो देखिने सेतो धातु बरामद गरिएको हो । बरामद चाँदीको तौल करिब ६० किलो रहेको छ, जसको अनुमानित बजार मूल्य १ करोड २ लाख रुपैयाँ रहेको सापकोटाले बताए । 

घटनास्थलबाट पक्राउ परेका व्यक्ति बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. ५, घुसुकपुरका ३६ वर्षीय कर्म साह सोनार हुन् ।

बरामद चाँदी र पक्राउ परेका व्यक्तिलाई आवश्यक कानूनी कारबाहीका लागि अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक सापकोटाको भनाई छ । 

Back to top