×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । अन्तरिक्ष अन्वेषण र स्वचालित कारको क्षेत्रमा केन्द्रित हुँदै आएका अरबपति उद्यमी एलन मस्कले पछिल्लो समय सफ्टवेयर सेवामा चासो बढाउँदै आएका छन् । एक्स (पहिलेको ट्विटर) खरिद गरेपछि उनले यसलाई “एभ्रिथिङ एप” बनाउने योजना अघि सारेका छन् । अब, मस्कले गुगलको जिमेललाई प्रतिस्थापन गर्ने उद्देश्यले नयाँ इमेल सेवा विकास गरिरहेको सङ्केत दिएका छन् ।

मस्कले विकास गरिरहेको भनिएको नयाँ इमेल सेवा छुट्टै एपका रूपमा आउने वा एक्स एपमै समाहित हुनेछ भन्ने अझै स्पष्ट छैन । एक्सएआई कम्पनीका कर्मचारी रोसले १६ डिसेम्बरमा पोस्टमार्फत मस्कको नयाँ इमेल सेवा विकास भइरहेको पुष्टि गरेका थिए । नयाँ सेवा जिमेलको परम्परागत थ्रेड्स शैलीको इनबक्सभन्दा फरक हुने र मेसेजिङ एपजस्तो इन्टरफेसमा आधारित हुने जनाइएको छ ।

“@x.com” हुनेछ इमेल एड्रेस

जसरी जिमेल प्रयोगकर्ताको इमेल ठेगाना [email protected] हुने गर्दछ, त्यसैगरी मस्कको इमेल सेवामा [email protected] रहनेछ। मस्कले यसबारे हालै एक्समा रिप्लाई गर्दै भनेका छन्, “हामी यही गर्न गइरहेका छौँ ।”

यसअघि, गत फेब्रुअरीमा पनि मस्कले आफ्नै इमेल सेवा ल्याउने सङ्केत दिएका थिए। उनले एक्सका इन्जिनियरले राखेको पोस्टमा रिप्लाई गर्दै भनेका थिए, “यो छिट्टै आउँदै छ ।”

एक्स एआई कम्पनीका प्रतिनिधिहरूका अनुसार यो सेवा परम्परागत इमेल प्लेटफर्मभन्दा फरक हुनेछ । यसको इन्टरफेस सरल र अन्तरक्रियात्मक बनाइनेछ, जसले इमेललाई मेसेजिङ एपजस्तो अनुभव दिनेछ । प्रयोगकर्तालाई छुट्टै एप इन्स्टल गर्न नपर्ने र यो सेवा एक्स एपबाटै सञ्चालन गर्न सकिने भनिएको छ ।

२०२४ सम्म जिमेलसँग १ अर्ब ८० करोडभन्दा बढी सक्रिय प्रयोगकर्ता छन् । जिमेल गुगल इकोसिस्टमको महत्त्वपूर्ण हिस्सा बनेको छ । मस्कको इमेल सेवा यस स्तरमा पुग्ने सम्भावना कस्तो हुनेछ भन्नेचाहिँ समयले देखाउनेछ ।

मस्कले परम्परागत इमेल प्रणालीलाई सरल, प्रभावकारी र प्रयोगकर्तामैत्री बनाउन नयाँ सेवा ल्याउन लागेको बताएका छन् । उनका अनुसार यसले प्रयोगकर्तालाई परम्परागत इमेल प्रणालीबाट नयाँ प्रणालीमा स्थानान्तरण गराउन प्रेरित गर्ने विश्वास गरिएको छ । तर, यो सेवा केवल नयाँ विचार परीक्षणका लागि ल्याउन लागेको हो कि परम्परागत इमेल सेवा प्रतिस्थापन गर्न, यसबारे स्पष्टता भने आउन बाँकी छ ।

Back to top