महोत्तरी। महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका–४ साढामा एक वृद्धको हत्या गरिएको छ। ७० वर्षीय सुशील झाको हत्या लुटेरा समूहले गरेको प्रहरीले पुष्टि गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवारका अनुसार, आज बिहान करिब ४ बजेको समयमा ७/८ जनाको समूहमा आएका लुटेराहरूले घरमा प्रवेश गरी झामाथि आक्रमण गरेका थिए। आक्रमणपछि झाको घटनास्थलमै मृत्यु भएको हो।
लुटेरा समूहले घरमा रहेको मङ्गलसूत्र, औंठी र नगद ८० हजार रुपैयाँ लुटेर लगेका छन्। मृतक झा पूर्व गाविस सचिव रहेको जानकारी प्राप्त भएको छ।
प्रहरीले घटनाको अनुसन्धान अघि बढाइसकेको जनाएको छ। घटनाले स्थानीयवासीलाई त्रसित बनाएको छ भने सुरक्षाको विषयमा गम्भीर चासोसमेत बढाएको छ।